कञ्चनपुर - रुखबाट लडेर ‘स्पाइनल इन्जुरी’(मेरुदण्डको चोट) भएकी शुक्लाफाँटा नगरपालिका ५ खजुवाका ५१ वर्षीय मनोरीदेवी साउँद उपचारका अभावमा आठ महिनादेखि ओछयान परेकी छन् छ ।
गत पुस १७ गते गाईगोरुका लागि स्याउला काट्ने क्रममा रुखबाट लडेर उनलाई ‘स्पाइनल इन्जुरी’ भएको हो । परिवारजनले धेरै ठाउँमा उपचार गराए पनि उनी ठिक हुन सकेकी छैनन् । “काठमाडौँदेखि भारतको नयाँ दिल्लीसम्म उपचारका लागि पु¥याए पनि ठिक हुन सकेको छैन”, मनोरीका श्रीमान् नरेन्द्रले भने , “विस्तारमै खाना खुवाउनेदेखि दिसापिसाबसमेत सफा गर्नुपर्ने अवस्था छ ।” मासिकरुपमा २० हजार बढीको औषधिमै खर्च गर्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे।
“भारतमा काम गर्थे घरको खर्च चल्थ्यो”, नरेन्द्रले भने , “श्रीमती रुखबाट लडेर थला परेपछि घर खर्चसँगै उपचार खर्च चलाउन निकै धौधौ भएको छ ।” हालसम्म उपचारमा २५ लाख बढी खर्च भएको र त्यसमध्ये १२ लाख कर्जा लिएर उपचार गरिएको उनले बताए । भएको सबै रकम उपचारमा खर्च भइसकेपछि साउँद परिवार औषधीका रकम जुटाउन सक्ने अवस्थामा छैन । “एकातर्फ छोराछोरीको पढाइ खर्च चलाउनुपर्ने अवस्था छ”, नरेन्द्रले भने, “अर्कोतर्फ ओछ्यान परेकी श्रीमतीको उपचार खर्च जुटाउनुपर्ने आपद् आइलागेको छ ।”
कर्जा पाउने सबै ठाउँबाट पैसा मागेर उपचारमा खर्च गरी सकेपछि कोही पनि अब कर्जा दिनसमेत तयार नभएको उनले दुःखेसो पोखे । श्रीमतीको थप उपचारका लागि उनले दातृ निकायसँग आग्रह गरेका छन् । वडाध्यक्ष चक्रबहादुर खड्काले ओछ्यान परेकी मनोरीको उपचारका लागि व्यक्तिगतरुपमा १० हजार सहयोग गरेको बताए ।
“साउँद परिवारको अवस्था निकै दयनीय भएकाले ज्यान जोगाउनका लागि भएपनि उपचारमा सहयोग गर्नका लागि सङ्घ, संस्था, सरकारी निकाय, दाता र दातृ निकायसँग आग्रह गर्छु”, उनले भने । “स्पाइनल इन्जुरी भएकालाई सरकारले मासिकरुपमा पाँच हजार दिने व्यवस्था गरिएको छ”, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने , “यसका लागि आवश्यक कागजात पेश गरे पाउने रकमका लागि हाम्रा तर्फबाट हुने सहयोगका लागि तत्पर छौँ । औषधिका लागि यसबाट पैसाको व्यवस्था मिलाउन सकिन्छ ।” नगर उपप्रमुख कल्पना पन्तको पहलमा स्पाइनल इन्जुरी भएकी साउँदलाई ‘एयर म्याट्रेस’ उपलब्ध गराइएको छ ।
ओछयानमा रहँदा हुने घाउ(बेड स्वर) नहोस् भन्नका लागि सुदूरपश्चिम सरकार मातहत रहेको औषधि आपूर्ति शाखाबाट एयर म्याट्रेस ल्याएर पीडित महिलाको घरमै पुगेर उपलब्ध गराइएको नगर उपप्रमुख पन्तले बताइन् । नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरिन् । रासस