धनगढी- धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजका दुई विधार्थीले बहराईनको एक फाइभस्टार(पाँच तारे) होटलमा पेड इन्टनसिप(तलबसहितको इन्टनसिप)को अवसर पाएका छन् । बहराइनको विश्वप्रशिद्ध पाँचतारे होटल क्राउन प्लाजा एचजी होटलमा एसपीएको बीएचएम (ब्याचलर इन होटल म्यानेजमेन्ट)मा अध्ययनरत् पवन भाट र प्रकाश बोहराले पेड इन्टनसीपको अवसर पाएका हुन् । कलेजले उनीहरुलाई १ वर्षका लागि उक्त अवसर जुटाईदिएको हो ।
बीएचएम पहिलो ब्याचका उनीहरुले उक्त अवधिमा कलेजमा पढेका विषयवस्तुलाई सिक्नुका साथै त्यहाँ आकर्षक आम्दानी पनि गर्नेछन् । इन्टनसीप अवधि सकिए लगत्तै उनीहरुले उक्त होटलमै काम गर्न पाउनेछन् । २७८ कोठायुक्त पाँच तारे उक्त होटलमा बहराइन अन्तर्राष्ट्रिय एयरपोर्टबाट १५ मिनेटको दूरीमा रहेको छ । बहराईनको मुख्य कुटनीतिक निकायहरु, दूतावासहरु, बैंकहरु, व्यापारिक प्रतिष्ठानहरु रहेको क्षेत्रमा अवस्थित उक्त होटल सबैभन्दा ब्यस्तमध्येको एक हो । उनीहरुसँग पाँचतारे होटेलमै काम गरेको अवसर हुने भएकाले चाहेको खण्डमा अरु देशका अन्य लक्जरिएस होटलमा आकर्षक तलबसुविधासहित काम गर्ने अवसर पाउँनेछन् ।एसपीएका क्याम्पसप्रमुख योगराज उपाध्याय र बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले शनिबार क्याम्पसमा एक कार्यक्रमकाबीच दुबैजनालाई विदाई गरे । बिदाई कार्यक्रममा क्याम्पस प्रमुख उपाध्यायले विधार्थीहरुलाई आगामी जीवनको शुभकामना दिदैँ एसपीएले विधार्थीलाई अध्ययनसँगसँगै उनीहरुको भविष्यको पनि सुनिश्चितता गरिदिने बताए ।
सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो । एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले विधार्थीलाई बधाई दिँदै उनीहरुले विश्वप्रशिद्ध होटलमा काम गर्ने अवसर पाउनु उनीहरुको भविष्य सुनिश्चित भएको आधार भएको बताए ।‘यस्ता होटलमा इन्टरसिपको अवसर पाउनु भनेको अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रमा अगाडि बढ्नसक्ने सुनिश्चितता हो । पढ्दापढ्दै पाएको यो अवसरले विधार्थीहरुको भविष्य सुनिश्चित भएको ग्रिन सिंग्लन पनि हो,’ उनले भने, ‘एकवर्षको यस पेड इन्टनसिपपछि विधार्थीहरुले त्यही जागिर पाउने अथवा विश्वभर रहेका तारेहरु होटलहरुमा यी विधार्थीले आकर्षक जागिर पाउने निश्चित छ ।’
सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीएचएमको सबैभन्दा ठूलो कार्यक्रम एसपीएमामात्रै छ । कलेजको आफ्नै आधुनिक ल्याब हुनुका साथै छिट्टै आफ्नो क्याफे सञ्चालनमा आउँदैछ । विधार्थीको अभ्यासका लागि एसपीएमा अन्तर्राष्ट्रिय चेन होटलमा काम गरेका सेफसमेत छन् । बीएचएम अध्ययन गर्न चाहने विधार्थीले सि–म्याट(प्रवेश परीक्षा) दिनुपर्छ । जुन अहिले क्याम्पसमा चलिरहेको छ । सिम्याट दिन सम्पर्कमा आएका सुरुवाती ५० जनालाई कलेजले निशुल्क बारिष्टा(कफी बनाउँने) र बेकरीको ट्रेनिङ तथा बेसिक कम्प्युटर कोर्ष पनि गराउँने कार्यक्रम निर्देशक भण्डारीले जानकारी दिए । जुनसुँकै संकायबाट आएका विधार्थीले पनि बीएचएम पढ्न पाउँछन् । हरेक विषयमा १.८ वा डी प्लस जिपिए आएको हुनुपर्छ । त्रिविको छात्रवृत्ति, प्रवेश परीक्षा टप गर्ने, गरिब जेहोन्दोर विधार्थीलाई पनि क्याम्पसले छात्रवृत्तिको व्यवस्था छ ।
अघिल्लो हप्तामात्रै देशभरिका हजारौं कलेजहरुमध्येबाट एसपीएले देशकै उत्कृष्ट १३ कलेजभित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो । लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।