कञ्चनपुर - कञ्चनपुरको बेलौरी नगरपालिकाले पोलिथिन ब्याग (प्लाष्टिक झोला) प्रयोग गर्न निषेध गरेको छ । साउन १ गतेदेखि लागू हुने गरी प्लाष्टिक ब्याग पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको हो । असार १० गते सम्पन्न नगरपालिकाको नवौं नगरसभाले गरेको निर्णय अनुसार साउन १ गतेदेखि पोलिथिन ब्याग प्रयोग निषेध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले जानकारी दिइन् । ‘पोलिथिन ब्याग पूर्ण रूपमा निरुत्साहित गरी नगरपालिकालाई स्वच्छ, सफा एवं वातावरणमैत्री बनाउन नगरवासीमा अनुरोध गरेको उनले बताइन् । ‘यस कार्यका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका उनको भनाइ रहेको छ । व्यवसायी, उद्योगी, लगायत नगरवासीलाई नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नगरपालिका क्षेत्र भित्र पोलिथिन ब्याग प्रयोग नगन आग्रह गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकल बताइन् ।

बजार क्षेत्रमा प्लाष्टिकजन्य फोहरका कारण व्यवस्थापनमा चुनौती देखिएको नगर उपप्रमुख जोगराज चौधरीले बताए । दुईपटक फोहर विसर्जन स्थलको खोजी गर्दा फेला पार्न सकेका छैनौं’, उनले भने, ‘प्लाष्टिकजन्य फोहरले पार्ने वातावरणीय प्रभाव नै फोहर व्यवस्थापन स्थल नपाइनु मुख्य कारण देखिएको छ । ‘प्लाष्टिक ब्याग निषेध गरिएपछि वातावरणीय फोहर व्यवस्थापनमा सहजता हुन्छ’, उनले भने, ‘प्लाष्टिकको अव्यवस्थित तरिकाले विर्सजनबाट वातावरणीय प्रभाव पर्नुका साथै जग्गाको उर्वरा शक्ति घट्ने हुन्छ ।’ नगरपालिकामा प्लाष्टिक झोला बाहेकका वातावरणमैत्री वैकल्पिक झोला उत्पादन तथा प्रयोग गर्नका लागि सरोकारवाला तथा सर्वसाधारणको जनचेतना अभिवृद्धि गर्ने किसिमका कार्यक्रम समेत सञ्चालन गरिने उनले जानकारी दिए । ‘नगरपालिकालाई प्लाष्टिक मुक्त नगरपालिका बनाउन चाहेका छौं’, उनले भने, ‘प्लाष्टिक झोला जलाउँदा मानव स्वास्थ्यका लागि हानिकारक ग्याँस उत्सर्जन हुन्छ । प्लाष्टिक जलाउँदा उत्सर्जन हुने ग्याँसले ओजोन तहको विनाश गर्नुका साथै जलवायु परिवर्तनमा पनि प्रतिकूल असर पर्छ । जसका कारण मानव तथा जीवजन्तुको स्वास्थ्य सेवामा प्रतिकुल असर पर्छ
। चालीस माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात बिक्री वितरण र प्रयोगमा नीतिगत प्रतिबन्ध यस अघि नै लगाइसकिएको थियो । सर्वोच्च अदालतको २०७८ साउन १८ मा नेपाल सरकारले घोषणा गरेको प्लाष्टिक प्रतिबन्धलाई प्रभावकारी रूपमा पालना गराउन कार्यान्वयन योग्य कार्ययोजना तयार गरी प्लाष्टिक झोलाको उत्पादन आयात बिक्री वितरण र प्रयोगमा देशभर प्रतिबन्ध लगाउन आदेश जारी गरेको थियो ।
नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा स्वीकार गरेको छ । प्रदूषणजन्य प्लाष्टिकको उपयोगलाई वैकल्पिक वातावरणमैत्री माध्यमबाट प्रतिस्थापन गर्ने रणनीति तथा कार्यनीति राष्ट्रिय वातावरण नीति २०७६ बमोजिम अवलम्बन गरेको छ । प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८ अनुसार प्लाष्टिक झोला टुक्रिएर माइक्रो प्लाष्टिकमा रूपान्तरित हुँदा वातावरण प्रदूषित हुने गरेको छ । नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा पाँच सदस्यीय प्लाष्टिक झोला नियमन तथा नियन्त्रण गर्ने प्रयोजनका लागि अनुगमन समिति गठन गर्न सक्ने प्रावधान समेत कार्ययोजनामा राखिएको छ । प्लाष्टिक झोला निषेध गर्ने कञ्चनु्रको बेलौरी सुदूरपश्चिम प्रदेशकै पहिलो नगरपालिका भएको छ । जसले वातावरण सन्तुलन कायम राख्न मद्त गर्दछ ।