काठमाडौं- नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ। एम अधिकारी राष्ट्र बैंकक गर्भनर महाप्रसाद अधिकारी भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ र उनको राजीनामासमेत मागिएको छ।
आफ्नो नाम जोडर गलत प्रचार भइरहेको भन्दै गभर्नर अधिकारीले बुधबार एमाले केन्द्रीइ कार्यालयलाई बुधबार एक पत्र लेखेर एम अधिकारीबारे जानकारी दिन माग गरेपछि एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीले पत्रको जवाफ दिँदै यस्तो स्पष्टीकरण दिएका हुन्।
‘अर्थ तथा योजना विभागमा उल्लेखित एम अधिकारी (खोटाङ) नाम सदस्यका रूपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चारमाध्यमसमेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ,’ एमालेले बुधबार अधिकारीलाई लेखेको पत्रमा भनिएको छ, ‘हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था छैन। तसर्थ, उक्त विगभामा उल्लेखित एम अधिकारी (खोटाङ) भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरो स्पष्ट गर्दछु।’
गभर्नर अधिकारीले एमालेलाई लेखेको पत्रमा त्यस पार्टीको अर्थ सम्बन्धी विभाग गठन भएको र सो विभागमा एम अधिकारी (खोटाङ) सदस्य रहेको भनी सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट जानकारी भएको र उक्त नामसँग आफूलाई जोडेर भ्रम सिर्जना गरिएकाले स्पष्ट पार्न माग गरिएको छ।
‘त्यस पार्टीको अर्थ सम्बन्धी विभाग गठन भएको र सो विभागमा एम अधिकारी खोटाङ सदस्य रहेको भनी सोसियल मिडिया तथा अन्य सञ्चारमाध्यमबाट जानकारी भयो। उक्त नामसँग म नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई जोडेर म नै सो व्यक्ति रहेको भान हुने गरी समाजमा भ्रम सृजना भएको देखिन्छ। म सम्पूर्ण राजनैतिक दल र नेतृत्वको सम्मान गर्दछु । साथै, त्यस दललगायत कुनै पनि राजनैतिक दलको सदस्य नरहेको व्यहोरा समेत अनुरोध गर्दछु,’ अधिकारीको पत्रमा भनिएको छ, ‘यसरी राजनैतिक पार्टीमा आबद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुने पार्टी विशेषको कुनै समितिमा रहने, बस्ने भन्ने बाहिरको विषय हुँदाहुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु।’
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा बोल्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारीका नाममा गभर्नर अधिकारी रहेको भन्दै प्रश्न उठेकाले उनको राजीनामा मागेका छन्।