काठमाडौं - असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन।२०९औं जन्मजयन्ती बुधबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् ।
आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०८ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।
भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।
भनिन्छ, जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।
घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले बुधबार सार्वजनिक विदा दिएको छ।