दार्चुलाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, स्याउ जोन मार्फत स्याउ उत्पादन नहुने क्षेत्रमा ओखर खेती विस्तार गरिने भएको हो । स्याउ जोन कार्यालयका निमित्त प्रमुख विष्णु प्रसाद ओझाका अनुसार चालू आर्थिक बर्ष देखि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा ओखर खेती विस्तार गरिने भएको छ ।
उक्त स्थानीय तहमा स्याउ खेती नहुने भएपछि ओखर खे ती प्रवद्र्धन गरिन लागेको ओझाले जानकारी दिनुभयो । विगत देखि सो क्षेत्रमा ओखर खेती हुदै आएको छ । थप यस कार्यालय मार्फत जोनकै रूपमा ओखरखेती लगाइने भएको हो । साविकको कृषि शाखा कार्यालय मार्फत पनि विगतमा सो क्षेत्रमा ओखर खेती गरिएको थियो । ओखरमा आत्मनिर्भर बनाउन परियोजना मार्फत ओखर खेती विस्तार गरिन लागेको निमित्त कार्यालय प्रमुख ओझाले बताउनुभयो ।
यस अघि पनि मालिकार्जुन र शैल्यशिखर क्षेत्रमा राम्रो ओखर उत्पादन हुदै आएको छ । यो क्षेत्रको ओखर डडेल्धुरा, डोटी तथा तराईका जिल्लामा निर्यात हुदै आएको छ । भएकै क्षेत्रमा थप कृषि सामग्री, बोटबिरुवा उपकरण सहयोग गरेर खेती विस्तार गरिन लागेको कार्यालयले जनाएको छ । जोन कार्यक्रमका लागि ५०० हेक्टर क्षेत्रफलमा ओखरखेती गरिनेछ । यहाँको माटो र मौसम सुहाउदो तरिकाले ओखरखेती गरिन लागेको हो ।
ओखर समुद्र सतह देखि एक हजार २०० मिटर देखि दुई ५०० मिटर सम्मको पहाडी भू–भागमा उत्तम मानिन्छ । यस क्षेत्रमा उन्नत जातको इङ्गलिस र पर्सियन जातिको ओखर खेती हुदै आएको छ । ओखर खेती गर्नका लागि समथल जग्गा देखि २० डिग्री भिरालो जग्गा सम्म गर्न सकिने कृषि विज्ञ बताउछन् । यस्तै खेतबारीका डिल, खरबारी, सार्वजनिक जमीन, सामुदायिक वनमा ओखरखेती लगाउन सकिन्छ ।
ओखर खेतीका लागि पानीको निकास राम्रो भएको, पानी नजम्ने तर चिस्यान रहिरहने प्राङ्गारिक पदार्थ भएको दुमट माटो उपयुक्त हुन्छ । हाल सम्म यहाँ स्थानीय हाडे ओखर र थिनेसल जातको ओखरखेती गरिदै आएको छ । यस अघि स्याउ जोन कार्यक्रम अन्तर्गत अपि हिमाल, मार्मा, नौगाड, दुहुँ र व्यास गाउँपालिकामा गत बर्ष देखि स्याउ खेती गरिएको छ । पाँच गाउँपालिकामा गत बर्ष देखि स्याउखेती सुरु गरिएको हो । रासस