धनगढी - कैलालीको धनगढीमा दौडने क्रममा लडेर नौं जना प्रशिक्षार्थी (तालिमे) प्रहरी जवान घाइते भएका छन् । उनीहरुमध्ये दुई जनालाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको प्रहरीले बताएको छ ।
अत्यधिक गर्मीका कारण नौं जना प्रशिक्षार्थी प्रहरी बिरामी भएका हुन् । नयाँ भर्ना भएका तालिमे प्रहरी जवानहरू अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएर लड्दा घाइते भई अस्पताल भर्ना भएका हुन् ।
बेहोस हुनेमा सरोज चौधरी, प्रशान्त रावत, दिनेश सुनार सन्तोष नेपाली, हरि बिक, अर्जुन थारु, भरत बिष्ट, हरिनारायण राना र ताराप्रशासद पुलामी मगर छन् । सरोज चौधरी र प्रशान्त रावतको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
तीमध्ये सात जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।दुई जना जवानको भेन्टिलेटर राखेर उपचार भइरहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । भदौमा नयाँ भर्ना लिएर ९८ जना प्रहरी जवानले सुदूरपश्चिम प्रदेश प्रहरी गणमा प्रशिक्षण लिइरहेका छन् ।
‘बिहान शारीरिक व्याम अन्तर्गत १० किलोमिटर दौड थियो, ९ जना बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो’, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका तालिम प्रशिक्षक प्रमुख बोधराज ओझाले भने, ‘अन्य सात जना खतरामुक्त भएर फिर्ता भएका छन् ।’
हाल धनगढी लगायतका तराईका क्षेत्रमा अत्यधिक गर्मीका जनजीवन प्रभावित भएको छ ।