बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिकामा बिहिबार पुनः मतदान हुँदै छ। गएको जेठ ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकाको पुनः मतदान बिहिबार हुन लागेको हो ।
बुढिगंगा नगरपालिकामा आज असार २३ गते हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
यसअघि गएको वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो।
मतदानका लागि सुरक्षा कडा पारिएको छ। सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।
मतदानस्थल पिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता सङ्ख्या १२ हजार ६ सय ५९ रहेको छ ।
यसअघिको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित प्रहरी र सशस्त्रका प्रमुखहरूलाई हटाएर नयाँ अधिकारीहरू पठाएको छ ।
बुढिगंगाको निर्वाचनमा १० वडाका वडाअध्यक्ष,सदस्यसहित नगर प्रमुखमा एमालेबाट राम बहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती तथा उपप्रमुखमा एमालेबाट माया खड्का र काङ्ग्रेसबाट रिता शाही उम्मेदवार छन् । खाती महान्यायाधिवक्ता खम्मबहादुर खातीका दाजु हुन्।