बाजुरा - को बुढिगंगा नगरपालिकामा बिहिबार हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ। बुढिगंगा नगरपालिकामा भोली असार २३ गते हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि बढाएका छौं’ प्रजिअ अधिकारीले भने ।
उनका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुनेछ ।
गएको वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।
१० वटा मतदानस्थल रहको पालिकामा प्रत्येक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ। मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका छन्। मतदान स्थल रहेको विद्यालयमा एक साताअघिदेखि नै बिदा दिइएको छ भने मंगलबारदेखि तीन दिन नगरपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन्।
नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरूले मंगलबारदेखि संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गरेको नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। १० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।१० वडा रहेको यस नगरपालिकाको कूल मतदाता सङ्ख्या १२ हजार ६ सय ५९ रहेको छ ।
बुढिगंगाको निर्वाचनमा १० वडाका वडाअध्यक्ष,सदस्यसहित नगर प्रमुखमा एमालेका राम बहादुर बानिया र काँग्रेसका रङ्ग खाती तथा उपप्रमुखमा एमालेबाट माया खड्का र काङ्ग्रेसबाट रिता शाही उम्मेदवार छन् ।