टीकापुर - कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ सुरुआत भएको छ । सुविधा सम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए । जनरल सर्जन डा नवीनचन्द्र भट्टले अस्पतालमा हालै आफ्नो सेवा सुरु गरेका हुन् ।
यसअघि वीर अस्पताल काठमाडौँमा कार्यरत डा भट्ट सरुवा भई टीकापुर अस्पताल आएका हुन् । उनले अब अस्पतालबाट जनरल एण्ड जीआई सर्जरीको सबै सेवा थालनी हुने जानकारी दिए । “हाइड्रोशील, हर्निया, सिष्ट पलाएको, पथरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत तथा पानी भरिएकोलगायत समस्याको शल्यक्रिया यही हुन्छ”, उनले भने , “केही दिनमै ‘मेसिन’ आएपछि ल्याप्रोस्कोपीको माध्यमबाट पनि शल्यक्रिया सुरु गर्छौँ ।”
उनका अनुसार यो शल्यक्रिया भनेको चिरफार नगरी मेसिनद्वारा सानो प्वाल पारी गरिने शल्यक्रिया हो । डा भट्ट आएसँगै अस्पतालमा अब आठ विशेषज्ञ चिकित्सक भएका छन् । नौ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा दुई सरकारी दरबन्दी र बाँकी छ जना स्थानीय तह तथा अन्य क्षेत्रबाट सुविधा प्राप्त गर्ने गरी काम गरिरहेका छन् ।
अस्पतालमा जनरल सर्जन, अर्थो, बालरोग, स्त्री तथा प्रसूति, एनेष्थेसिया र एमडिजीपी सेवा उपलब्ध रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीेले जानकारी दिए । यसपछि अस्पतालको गुरुयोजना बनाई अहिले ५१ शय्या रहेको अस्पताल स्तरोन्नति गरी ५१ शय्या थप्ने तयारी भइरहेको पनि उनले बताए । “हामी अस्पताल विकास सँगसँगै अस्पतालमा थप सेवा कसरी विस्तार गर्ने भनी क्रियाशील छौँ, अस्पतालको स्तरोन्नतिसँगै गुरुयोजना निर्माण गर्ने तयारी छ”, उनले भने , “अस्पतालमा भएका भवन, उपकरण पनि सदुपयोग गर्ने गरी काम गर्दैछौँ ।”
अस्पतालमा दैनिक ५०० सम्म बिरामीले उपचार सेवा लिने गरेका छन् । यहाँ कैलाली जिल्लाको टीकापुर, लम्की, भजनी नगरपालिका, जानकी, जोशीपुर गाउँपालिकासहित बर्दिया जिल्लाको राजापुरका मानिस पनि उपचार सेवा लिन आउने गरेका छन् । यहाँ स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू भएकाले सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।
यहाँका पालिकाका नागरिकले सेवा पाउने भएकाले अस्पतालमा विशेषज्ञ चिकित्सक र अन्य सेवा विस्तारका लागि टीकापुर , भजनी नगरपालिका र जानकी गाउँपालिकाले सघाउँदै आएका छन् । रासस