धनगढी - सुदुरपश्चिम प्रदेशको साँस्कृतिक प्रतिनिधि मुलक कृति ‘डोट्याली लोकदेवता र जाँत सौन्दर्य’ को लोकार्पण गरिएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दुर्गा प्रसाद जोशी र अध्येता मीन बहादुर राणाद्वारा लिखित सो कृतिको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले शनिबार एक समारोहबीच लोकार्पण गरेका हुन् ।
सुदुरपश्चिमाञ्चल साहित्य समाजको आयोजना र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रायोजनमा सो समारोह आयोजना गरिएको थियो । सो अवसरमा मन्त्री धामीले लोक संस्कृतिका अनेक विधाहरू लोप हुने अवस्थामा पुगेका बताए । उनले साँस्कृतिक बिधिहरू हाम्रा पहिचान हुन्, हाम्रो पहिचान नै संकटाभिमुख अवस्थामा पुगेको बेला ‘डोट्याली लोक देवता र जाँत सौन्दर्य’ कृति उदाहरणीय रहेको बताए ।
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डाक्टर हेमराज पन्तले सुदुरपश्चिमको भाषा अहिले संकटमा रहेको बताउँदै ‘पहिलो आवश्यकता यसको व्याकरण निर्माण हुनुपर्छ । संघीयता आईसकेपछिले पहिचानलाई सशक्त बनाउछ । सुपमा थारू सांस्कृति छ, पहाडी र हिमाली संकृति छ । सबै सँस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्न र अनुसंधान गर्न यो कृतिले प्रेरणा दिने छ ।’ नेपाल सँस्कृति तथा साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले यस्ता विषयामा अध्ययन अनुसन्धान गर्ने स्रष्टालाई सम्बन्धित मन्त्रालयहरूले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नाटा सुदुरपश्चिम प्रदेशका अध्यक्ष एवम् सँस्कृतिकर्मी मायाप्रकाश भट्ट, साहित्यकार प्राध्यापक गणेशराज जोशी, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. राजेन्द्रवीर चन्द,ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट,नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्ट,नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष लक्ष्मण दत्त भट्ट र प्राज्ञ वासुदेव पाण्डेय लगायतको सहभागिता रहेको थियो ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हरिकृष्ण कडायतले गरेका थिए भने संचालन दुर्गालक्ष्मी क्याम्पसका बिष्णु महराले गरे ।