धनगढी – सुदूरपश्चिम प्रदेशमा अझै सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेका छैनन् । बिगतका बर्षहरुमा दशैंतिहार, छठ सहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुदैं आएको थियो ।
तर सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशको धनगढी बाहेक अन्य बजार तथा जिल्लामा अझैं खुल्न नसकेका साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालयका सूचना अधिकारी रामचन्द्र जोशीले जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेशनले हाल अञ्चल कार्यालय धनगढीमा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कर्पोरेशनले विगतका वर्षहरूमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैंतिहार तथा छठलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो ।
यस बर्ष भने सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको घोषणा गरेको भएपनि १ हप्तासम्म पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अझै आउन सकेका छ्रैनन् । आसन्न चाडपर्व दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक १७ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने घोषणा गरेको थियो ।
साल्ट टे«डिङ कर्पोरेशनका सूचना अधिकारी जोशीका अनुसार ढुवानी समस्याका कारण अञ्चल कार्यालय धनगढीबाहेक अन्य ठाउँमा तत्काल सुपथ मूल्य पसल सञ्चालन ल्याउन नसकिएको बताए । सरकारले चालू आर्थिक वर्षदेखि ढुवानीमा भ्याट लगाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित कुनै पनि मालबाहक ट्रक मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभएकाले सामग्री ढुवानी गर्न सकिएको छैन ।
कर्पोरेशनले दररेटभन्दा बढी भएर आएको र बढी भएर आएको भाँडादरलाई केन्द्रिय कार्यालय अस्वीकृत गरेको सूचना अधिकारी जोशीले बताए ।