टीकापुर- नौ वर्षअघि अर्काको घरमा बन्धकजस्तै भएर काम गर्न बाध्य मुक्त कमलरी अहिले अवसरको खोजीमा छन् । मुक्त भएपछि कतिपयले शिक्षा नियमित गरे भने कतिपय परिपक्क उमेर भइसकेकाहरु सीप सिकेर आत्मनिर्भरताको बाटोमा अघि बढेका छन् । सीप सिकाहरु अहिले सक्षम भएका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिका २ बौनियाकी रजनी चौधरीले मुक्त भएपछि एक संस्थाको सहयोगमा तीन महिनाको सिलाइकटाइ तालिम पाइन् । त्यसपछि थप काम सिकेर दक्ष भएपछि हाल उनी आफैँले सिलाइकटाइ पसल खोलिन् । धेरैको साथ र सहयोग पाएर रजनी अहिले उद्यमी बन्न सफल भइन् । उनको पसलमा अहिले ६ कामदार छन् र धेरैलाई निःशुल्क सीप दिइरहेकी छन् ।
व्यवसायमा स्थापित भएपछि रजनीले अहिले अध्ययनलाई पनि अगाडि बढाएकी छन् । “कमलरी मुक्त भएपछि के गरेर गुजारा गरिएला भन्ने पिर थियो, सिलाइकटाइ तालिम पाएँ, तीन महिनामा दक्ष बन्न सकिएन, त्यही पसलमा थप सीप सिकेँ”, उनले भनिन् , “धेरै सहयोगी भेटिए, सहयोग र साथ पाएपछि आफ्नै पसल खोलेँ । आजभोलि आफैँ उद्यमी भएकी छु ।”
उनी आफूजस्ता विपन्न सयौँ किशोरीलाई निःशुल्क सिलाइ सिकाउँदै गरेको बताइन् । “निःशुल्क सीप दिनुका साथै, केहीलाई रोजगारी दिएकी छु”, रजनीले थपिन् , “अहिले कमाइ पनि राम्रै छ ।”
यस्तै टीकापुर २ विजयनगरकी गीता चौधरी पनि सफलताको बाटोमा अघि बढिरहिकी छन् । विद्यालय उमेर कटिसकेकी गीताले तीन महिना बिज्र कक्षा लिइन् । एकैपटक कक्षा ५ मा भर्ना भएर एसएलसी उत्तीर्णपछि भेटनरी उनले अध्ययन गरिन् । उनले अहिले आफ्नै एग्रोभेट खोलेकी छन् । “मैले पढेर यहाँसम्म पुगुला सोचेकी थिइनँ, इच्छाशक्ति र सहयोगी पाए हिम्मत बढ्ने रहेछ”, गीताले भनिन्, “आफ्नै एग्रोभेट छ । अब आफ्ना लागि आफैँले गर्नसक्ने भएकी छु ।”
टीकापुर १ शिवनगरकी रञ्जिताकुमारी चौधरीले पनि कमलहरी मुक्तपछि १२ कक्षासम्म अध्ययन गरिन्। त्यसपछि उनले नास्ता पसल खोलेकी छन् । त्यही पसलबाट उनको जीवन चलेको छ । “१२ कक्षामाथि पनि पढ्ने रहर थियो तर छात्रवृत्ति पाए हुन्थ्योे”, उनले भनिन् , “नास्ता पसलबाट गुजारा चलेको छ । अहिले स्वतन्त्र जीवन जिउन पाएकोमा खुसी छु ।”
मुक्त कमलहरी सिर्जना चौधरी पनि सात वर्ष कमलरी बस्दासम्म निरक्षर थिइन् । पछि साक्षर भएर ५ कक्षामा भर्ना भइन् । सिर्जना अहिले स्नातक तह दोस्रो वर्षमा पढ्दै र व्यवसायसमेत गरिहेकी छन् । “पढाइ पनि नियमित छ । बिहान क्याम्पस जान्छु, दिउँसोको समयमा खाजा पसल चलाएकी छु”, उनले भनिन्, “पसल ठूलो बनाउने योजना थियो तर लगानी गर्नसक्ने अवस्था छैन । सानो भए पनि पढाइ खर्च र गुजारा चलेको छ ।”
कैलालीकै अनिता चौधरीको जीवनसमेत फेरिएको छ । मुक्तपछि विद्यालय पुनः पढ्न पाएकी अनिताले १० कक्षासम्म पढेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । उनी व्यवसाय विकासमा सरकारको सहयोग भए राम्रो हुन्थ्यो भनिन्, “हामीजस्ता मुक्त कमलरीका लागि सरकारले व्यवसाय सञ्चालनमा अनुदान, सहयोग, थप तालिमजस्ता कार्यक्रम गरिदिएको भए अझ सफल हुने थियौँ ।”
कैलालीकै प्रेमी थारु पनि व्यवसायी बनिन् । प्रेमीले सानैमा विवाह गरिन् । विवाहलगत्तै सन्तान जन्मियो । प्रेमीका श्रीमान बितेपछि उनी एकल भइन् । अध्ययन पनि पूरा गर्न पाइएन । कमलरी मुक्तपछि प्रेमीले पनि खाजा पसल चलाएर गुजारा गरिरहेकी छन् । “बच्चा साथमा छ, श्रीमान् नरहेपछि बच्चाको जिम्मेवारी पनि मेरै काँधमा छ”, उनी भन्छिन, “अहिले यही पसलले हाम्रो जीवन धानिएको छ । मुक्तपछिका केही समय सङ्घसंस्थाले सघाए तर अहिले पनि हामीलाई सहयोग चाहिएको छ ।”
टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह मुक्त कमलरीको सीप विकास र व्यवसायमा सघाउन नगरपालिकाले विभिन्न कार्यक्रम ल्याइने बताए । “हामीले श्रम सहकारी गठन गर्ने योजना बनाएका छौँ, हामीले श्रम गरेर जीविका चलाउने नागरिकलाई पालिकाले योजना बनाएर सहयोग गर्ने नीति लिएका छौँ”, उनले भने, “मुक्त कमलरीको संस्थागत र व्यक्तिगत विकासमा पालिका सहयोगी बन्छ ।” रासस