काठमाडौं- विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् ।
एक्कासी ठूलो वर्षा हुने र फेरि घाम लागेर जमिन तात्दा पहिरो जोखिम अत्यधिक हुने गरेको भूगर्भविद्ले बताएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार मनसुन सुरु भएपछिका मनसुनजन्य विपद्का कारण १५ जनाको मृत्यु र १ सय १४ घरपरिवार प्रभावित भएका छन् । यस अवधिमा १ सय ५ घटना भएको गृहले जनाएको छ ।
मन्त्रालयका अनुसार भारी वर्षाका कारण १ पुरुष र दुई महिलाले ज्यान गुमाएका छन् । ३३ घरपरिवारमा क्षति पुर्याएको छ। मुलुकभर ३४ विपद्को घटना भएका छन् ।
पहिरोका कारण ५ पुरुष र ४ महिला गरी ९ जनाले ज्यान गुमाएका छन् । ६८ परिवार प्रभावित भएको छ । पहिरोको घटना ५७ वटा भएका छन् ।
मनसुन सुरु भएपछि बाढीका कारण दुई पुरुष र एक महिला गरी तीन जनाले ज्यान गुमाएका छन् । बाढीका कारण १३ घरपरिवार प्रभावित भएका छन् । यस अवधिमा १४ वटा बाढीका घटना भएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मंगलबार रातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन भएको छ । कैलालीको धनगढी, बाँकेको नेपालगन्ज, रूपन्देहीको भैरहवा, कास्कीको पोखरा, दाङ, प्युठान, पाल्पा र रौतहटमा भारी वर्षा भएको छ । साभार राजधानी दैनिक