डडेल्धुरा - जिल्लाका ७८ हलिया परिवारले दोस्रो किस्ता वाफतको रकम पाएका छैनन । गत आर्थिक बर्ष २०७५÷७६ को अन्तमा आएर घर निमार्ण बाफतको पहिलो किस्ता पाएको तर घर निमार्ण सम्पन्न गर्दा पनि दोस्रो किस्ता वाफतको रकम नपाएको डडेल्धुराको नवदुर्गा गाँउपालिका कुलगेडीका राधादेवि दमाइले बताइन ।
पहिलो किस्ताको रकमले घर निमार्ण सम्पन्न हुन सकेन, ऋण सापट गरेर घर निमार्ण गरे तर दोस्रो किस्ता वाफतको रकम नपाउदा सास्ती भएको उनको गुनासो छ । ऋण समयमा नै चुक्ता गर्न नसक्दा साहुले धम्कि दिने गरेको पनि उनले बताइन । तर दोस्रो किस्ता वाफतको रकम उपलव्धताको लागि मन्त्रालयसंग सहकार्य गरिरहेको मालपोत कार्यालय डडेल्धुराले जनाएको छ ।
छुट हलियाको नामावली संङ्कलनको लागि पनि स्थानीय सरकारलाइ दवाव दिइरहेको राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष सुन्दर जैरुले बताए । जिल्लाको अमरगढी, परशुराम नगरपालिका, नवदुर्गा, भागेश्वर, गन्यापधुरार आलिताल गाउँपालिकाका जनप्रतिनिधीहरुलाई मुक्त हलियाका सवालमा गम्भीर बन्न दवाबमुलक कार्यक्रमहरु जारी रहेको उनको भनाइ थियो । जिल्ला मालपोत कार्यालय डडेल्धुराको तथ्याङ्कमा जिल्लाभरि २ हजार ५ सय ५१ जना हलिया छन ।
ति मध्ये १ हजार ९ सय २६ हलिया परिवारले राहत पाएका छन भने ४ सय ५१ परिवार पुनरस्थापना हुन सकेका छैनन । ७८ परीवारले दोस्रो किस्ता वाफतको रकम पाएका छैनन । भने सयौँको संख्यामा हलियाहरु छुटेको जनाइएको छ । मुक्त हलियाका नाममा टाठाबाठा र पहुँच भएकाको राज भएको पिडित हलियाहरुको भनाइ छ ।
वास्तविक हलिया अहिले पनि मालिकको निगाहमा बाँच्न बाध्य भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का सुरेश दमाइले बताए । जनआन्दोलनको बेला हचुवाको भरमा पधेँरा र चौतारामा बसेर हलियाहरुको तथ्याङ्क संङ्कलन गर्दा वास्तविक हलियाहरु छुटेका उनको तर्क रहेको छ ।