धनगढी -प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले अध्यन गरेको बिधालयको स्मरण गरेका छन । डडेल्धुराको साविक अशिग्राम गाविस–५ मा २००३ सालमा जन्मिएका देउवाले डोटीको शिखर -९ को उच्चाकोटस्थित सीताराम माविमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए।
उनी २०२१ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए। त्यो बेला डडेल्धुराबाट पहिलोपटक अध्ययनका लागि काठमाडौं आउँदाको यात्रा स्मरण गरेर तत्कालीन अवस्थाको सुदूरपश्चिमको विकासको बारेमा चर्चा गरे।
कैलाली सदरमुकाम धनगढीमा शनिबार बिहान धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले आफ्नो बाल्यकालमा सुदूरपश्चिमेली जनताले काठमाडौँ जाँदा भोग्नु परेको कठिनाइ स्मरण गरेका हुन्।
‘डोटी उच्चाकोटबाट एसएलसी पास गरेपछि पढ्न जाँदा काठमाडौँ जानका लागि यही बाटो भएर आएको थिएँ म,’ उनले भने, ‘तीन दिन लागेको थियो। अहिले त तीनपल्ट ओहोरदोहोर गर्न सकिन्छ।’भरतीय बाटो प्रयोग गरेर तीनदिनमा काठमाडौं पुगेको देउवाले स्मरण गरे।
प्रधानमन्त्री देउवाले डडेल्धुराको रुवाखोलाबाट धनगढी पुगेपछि सीमावर्ती भारतीय सहर गौरीफन्टाबाट रेल चढेर रक्सौल पुगेको पनि बताए। ‘धनगढी (गौरीफन्टा)बाट रेल चढेर मैलानी भन्ने ठाउँ छ त्यहाँ चेन्ज गरेको छु,’ उनले भने, ‘त्यस पछाडि लखनउमा चेन्ज गर्नुपथ्र्यो। त्यहाँबाट मुजफ्फरपुर हुँदै रक्सौल भएर गाडीबाट काठमाडौं पुगेको थिएँ।’
तत्कालीन समयमा बेलुकी ७ बजे कैलालीबाट कर्णाली पारी (बर्दिया) जानै नपाइने अवस्थासमेत रहेको देउवाले सम्झिए। कैलालीको चिसापानीमा कर्णाली नदीमाथि पुल निर्माण भएपछि मन लागेका बेला ओहोर–दोहोर गर्ने अवस्था आएको उनको भनाइ थियो।
‘कर्णाली पारी ७ बजेपछि त जानै पाइँदैनथ्यो,’ देउवाले विगत स्मरण गर्दै भने, ‘पुल बनेपछि जुन बेला मन लाग्यो जान पाइन्छ। अहिले यो सवै भएको छ।’