बैतडी– कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलङ्गासम्मको महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) तयार भएको छ । सडक विभाग अन्तर्गतको भौतिक सामाजिक तथा वातावरणीय शाखाले परामर्शदाता कम्पनी मार्फत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पारेको हो ।
डिपिआर सडक निर्माणका क्रममा हुने जङ्गलको क्षति, खेतीयोग्य जमीनको क्षति, घरपरिवार विस्थापित लगायत वातावरणीय प्रभावका कुराहरु आँकलन गरेको टोलीप्रमुख रेशम बाँनियाले जानकारी दिए । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार महाकाली कोरिडर निर्माण गर्दा बैतडीमा करीब ६८ हेक्टर खेतीयोग्य जमीन नष्ट हुने भएको छ ।
कोरिडोरले पञ्चेश्वर, शिवनाथ र दोगडाकेदार गाउँपालिका तथा दशरथचन्द नगरपालिकामा प्रभाव पार्ने जनाइएकोे छ । यस्तै चार वटै स्थानीय तहमा करीब ३५ हेक्टर जङ्गल नष्ट हुने बताइएको छ । कोरिडोर निर्माणका क्रममा शिवनाथमा २१, दशरथचन्द नगरपालिकामा २७ र दोगडाकेदार गाउँपालिकामा ५७ घरपरिवार विस्थापित हुने देखिएको छ ।
पञ्चेश्वर गाउँपालिकामा विस्थापित हुने परिवार संङ्ख्या सङ्कलनको काम भइरहेको छ । कोरिडोरले विस्थापित हुने घरपरिवारलाई क्षतिपूर्ति बापत १८ हजारदेखि ४० लाखसम्म मुआब्जा दिन सकिने जनाइएको छ । एघार मिटर अर्थात् दुई लेन चौडाइ रहने सडक निर्माणका क्रममा झण्डै पाँच हजार ठूला रूख र सात हजार बुट्यान कटान गर्नुपर्ने देखिएको छ ।
करिडोरअन्तर्गत बैतडीमा १ सय १४ किलोमिटर सडक निर्माण हुनेछ । कञ्चनपुरमा ११, डडेल्धुरामा ५९ र दार्चुलामा ४० किलोमिटर सडक निर्माण हुने बताइएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएसँगै कोरिडोर निर्माण कार्यले तीव्रता पाउने जनाइएको छ । महाकाली करिडोर अन्तर्गत कञ्चनपुरको ब्रह्मदेव–झुलाघाट–दार्चुला सम्मको दूरी २ सय ९१ किलोमिटर छ । रासस