कैलाली - नेकपा माओवादी पार्टी राज्य सत्तामा पुगेपछि जनयूद्धका घाइते अपाङलाई बिर्सेको भन्दै पार्टीका नेता तथा सांसदहरू आलोचना गरेका छन् ।
शहीद जोखन रत्गैंया चौधरी (हिम्मत) स्मृति प्रतिष्ठानले आइतवार धनगढीमा आयोजना गरेको श्रद्धाञ्जली तथा शहीद परिवारलाई सम्मान कार्यक्रममा प्रदेश सांसद वीरमान चौधरीले मुख्यमन्त्री भट्टको कार्यशैलीप्रति खुलेरै विरोध गरे।
उनले भने ‘माओवादीबाटै मुख्यमन्त्री बनेका भट्टले पार्टीको एजेण्डा र मुद्दालाई संस्थागत तथा उठान हुने कुनै पनि ठोस कार्य योजना छैन । आज बोल्नुपर्ने बाध्यता सिर्जना भएको छ ।’
उनले थपे ‘हामी बोलिरहेका छैनौँ, जनता बोलिरहेका छन् । बोल्नुपर्ने स्थिति छ, विचारविहीनहरू अगाडि आउँदैछन् । हामी जुन विचार र बाटोमा हिँडेका छौँ । त्यसमा अझै संघर्ष गर्न बाँकी देखियो ।’
उनले लोकतान्त्रिक व्यवस्थामा लोकतन्त्रको अभ्यासको क्रममा गणतन्त्रलाई बिर्सने, गणतन्त्रको अभ्यासमा समावेशी समानता बिर्सेको बताए । ‘आज हाम्रो पार्टीको सरकार छ, सुदूरपश्चिम प्रदेश सरकारले यो ५ वर्षमा सहिद परिवारको हितमा के काम गर्यो, एउटा नमूना कार्यक्रम गरेको देखाइदिनुस् ?’
उनले भने ‘यहाँ शहीद परिवार बिरामी भएर मर्नुपर्ने अवस्था छ । सुखली डाई (शहीद जोख्खनकी आमा) बिरामी पर्नुभयो, सरकारसँग हातजोर बिन्ती गर्दा समेत एक लाख रुपैयाँसम्म दिलाउन सकिएन । यहाँ सबै शहीद परिवारको अवस्था एउटै छ । सत्तामा हामी छौँ तर उपचारको व्यवस्था खै ? बालबालिका पढाउनलाई छात्राबृत्ति खोई ।’ भन्दै मुख्यमन्त्री भट्ट माथि प्रश्न गरे ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि ज्ञवालीले प्रदेश र केन्द्रमा आफ्नो सरकार हुँदा समेत शहीद, घाइते परिवारहरुलाई उपेक्षा भएको बताए । उनले राज्यसत्तामा रहेका सीमित मान्छेले मात्रै सुविधा भोग गरेको आक्रोश पोखे ।
उनले आफूहरुले लडेर ल्याएको शासन व्यवस्थामा शहीद र घाइते परिवारको सम्भार गर्ने कुरा हो । तर शहीद र घाइते परिवारको अवस्था कस्तो छ त ? कहिले आउने हुन् ती सम्मान र राहतका दिन ? सत्तामा हुँदा त आर्थिक सामाजिक, राजनीतिक र स्थास्थ्यमा पछाडी परेकाहरुलाई सेवा र अवसर आउने हो । तर यहाँ त टाठाबाठाले मात्रै राज्यसत्ताको फाइदा लिएको बताए ।
यस्तै पार्टीका केन्द्रीय सदस्य श्रवण भट्टराईले पार्टीले हजारौं सहिदहरुलाई डफ्नाएर थुप्रै हार व्यहोर्दै यहाँ सम्म आईसकेको बताए । उनले पार्टी सत्तामा आईसकेपछि विलाशीता तर्फ केन्द्रीय भएको आरोप लगाउँदै तिनै कार्यशैलीलाई सुर्धान जनताले चुनावी मात परिणामबाट चुनौति दिएको बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले १० वर्षे जनयूद्धबाट प्राप्त परिवर्तनहरुलाई जनताले उपभोग गरिरहेका छन्, तर त्यो बेलाको आन्दोलन र बलिदानलाई स्वीकार गर्न नसकेको बताए । उनले भने ‘हामी पनि सहिदहरुले देखाएको अधुरो काम गर्न चुक्यो । रचनात्मक काम गर्न सकेका छैन । अब संस्थागत विकास गर्न योजना बनाउँनु पर्छ ।’
कार्यक्रममा शहिद परिवार, पार्टीका नेता तथा कार्यकर्ता, गैरसरकारी संघसंस्था र पत्रकारहरुको सहभागिता रहेको थियो ।