धनगढी-नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिएका छन् ।
उनले शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तहमा कांग्रेसबाट निर्वाचित प्रदेशभरिका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई गरिएको बधाई तथा स्वागत गरेका हुन । निर्बाचित जन प्रतिनिधीलाईलाई निर्देशन दिँदै उनले भ्रष्टाचार गरे पार्टीले कारबाही गर्ने बताए।
उनले भने, ‘प्रदेश समिति आइसकेपछि हामीले दिएको टिकटबाट तपाईँहरु निर्वाचित हुनु भएको छ, तपाईहरुले राम्रो गरे पार्टीको नाम उच्च रहन्छ, गलत गरे बद्नामित हुन्छौं, तसर्थ गलत काम नगर्नु होला।,’
उनले भने, ‘अघिल्ला जनप्रतिनिधिहरुको व्यक्तिगत स्वार्थकै कारण बाझाबाझ हुँदा गतिलो गरी काम हुन सकेन, अब नयाँ जनप्रतिनिधिले त्यस्तो गरेको भेटिएमा प्रदेश कार्यसमितिले बाँकी राख्दैन।’
कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट जितेका स्थानीय तहको प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुको सहभागीता रहेको थियो ।