दार्चुला - जिल्लाको शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको छ । घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । ‘घटनास्थलमा ढुंगा र टाउकोमा चोट देखिएको छ,’ उनले भने, ‘घटनाको अनुसन्धान जारी छ ।’
आमाको हत्या भएपछि छोरी गौमती खडायतले गाउँलेलाई जानकारी गराएकी हुन् । ‘आमासँगै खरको लुटोमा जलाएर छोरीको समेत हत्या प्रयास भएको रहेछ,’ शैल्यशिखर नगरपालिका १ का वडाध्यक्ष भरतबहादुर खडायतले भने, ‘छोरीले भागेर ज्यान बचाएकी छन् ।’
गौमती भागेर छिमेकी रणवीर खडायतको घरमा पुगेपछि ज्यान जोगाउन सफल भएको उनले बताए । छिमेकीका अनुसार हत्यामा संलग्न भएकाहरू बुधबार बिहान ३ बजे मदिरा सेवन गरी अनिभाको घर पुगेको र महिलालाई घरबाहिर बोलाएका थिए ।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका स्थानीयले गरेका छन् । एकजना महिलालाई घरबाहिर बोलाएर मदिरा सेवन गरेका तीनजना पुरुषले बलात्कार गरेको हुन सक्ने आशंका गरिएको छ । घरबाहिर गएको केही समयपछि छोरीले आमालाई फोन गर्दा मोबाइल अफ गरिएको थियो । ४ बजे बाहिर आएर हेर्दा घरभन्दा माथिल्लो खेतमा रहेको खरमा आगो लागेको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आंशकामा छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ । अर्का भोजबहादुर खडायत फरार छन् । पक्राउ परेका वीरेन्द्र माओवादी केन्द्र शैल्यशिखर नगर कमिटी उपाध्यक्ष हुन् । फरार रहेका भोजबहादुर नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्ड हुन् ।
मृतक महिलाका श्रीमान् सात वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा छन् । अनिभाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । जटिल घटना भएकाले जिल्ला अस्पताल ल्याएर पोस्टमार्टम गर्ने र थप अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । रासस