घोडाघोडी - पछिल्लो समय सवैतिर टाउको दुखाइ वनेको छाडा पशु चौपायाका कारण निकै समस्या देखिएको छ । छाडा चौपायाले अन्नबाली सखाप पार्न थालेपछि किसानहरू निकै चिन्तित छन् अन्नबाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता किसानहरूको छ । दैनिकी नै छाडा चौपाया धपाउन मै बित्न थालेपछि किसान चिन्तित बनेका हुन ।
छाडा चौपाया दिनभर मुख्य राजमार्ग तिर बस्ने गरेको भए पनि साँझ परेपछि खेततिर पस्ने गरेका कारण आफूहरू रातभर चौपाया धपाउन लाग्ने गरेको घोडाघोडी नगरपालिका–१० का हरि चौधरी बताउनुहुन्छ । हुलका हुल आउने गाई, साँढे र बाच्छाबाच्छीले किसानले लगाएको धान, तरकारीहरू लगायतका बाली सखाप पार्ने गरेको चौधरीले बताउनु भयो । सडकमा छोडिएका हुलका पशु चौपायाका कारण किसानले समस्या भोग्नु परेको गौरिगंगा नगरपालिका–८ का सुनिता थापाको गुनासो छ ।
दिनभर त बजार तिरै हुन्छन् गरेपछिको कताबाट आउँछन् आउँछन् उहाँले भन्नुभयो,“हामी बर्बाद भयौँ ।”छाडा पशुलाई नियन्त्रणमा लिन नसके पछि पटक पटक स्थानीय निकायलाई हार गुहार गर्दै आए पनि कसैबाट पहल कदमी हुन नसेकेको उहाँको गुनासो छ । किसान मात्र हैनन् छाडा पशु चौपायाका कारण सडक छेउमा फलफुल र तरकारी पसल सञ्चालन गर्दै आएका व्यापारीले समेत सास्ती झेल्दै आएका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१ का फलफुल व्यापारी रमेस ऐर छाडा पशु चौपायाले तरकारी,फलफुल खाइदिने हुनाले निकै दुःख पाएको बताउनुहुन्छ । छाडा चौपायाका कारण व्यापारमा निकै धक्का पुगेको ऐरको भनाइ छ ।
फलफुल व्यापारी मात्र नभएर छाडा चौपायाका कारण होटेल व्यवसायी समेत समस्यामा छन् । कहीँ केही खान नपाएका छाडा चौपायाले होटेलमा बनाएर राखिएका चिजहरू समेत खाइदिने गरेको होटेल व्यवसायी तेजु खड्काको भनाई छ । खड्का भन्नुहुन्छ,‘चोक–चोकमा तथा सडक छेउमा व्यापार गर्ने व्यापारी छाडा पशु चौपायाका कारण हैरानी बेहोर्न बाध्य छौ ।’
सबैभन्दा प्रमुख कुरा त छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम धेरै बढेको छ । प्राय हुने सवारी दुर्घटनामा सडकमा रहेका गाई गोरु पनि मर्ने गरेका छन् । रातिको समयमा छाडा चौपायासँग ठोक्किएर सवारी दुर्घटना हुने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक टेक बहादुर जोरा ले बताउनुभयो ।
जोराका अनुसार राति सडकमा बसेका गाई गोरु नदेखिने हुँदा सवारी दुर्घटना हुने गरेको हो । “दिउँसोमा त्यति धेरै दुर्घटना हुँदैनन्, रातिको समयमा छाडा चौपाया सडकमा बस्ने हुँदा दुर्घटना हुने गरेका छन्”, जोरा ले भन्नुभयो । छाडा चौपाया सबैको टाउको दुखाइको विषय भएको हुनाले सवै जना मिलेर यो समस्याको समाधान गर्न लाग्नुपर्ने कैलालीको घोडाघोडी नगरपालिकाका पमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह बताउनु हुन्छ ।
नगरपालिकाले पहिले पनि छाडा पशु चौपाया नियन्त्रणका लागि पहल गरेको भए पनि सफल नभएको हुनाले सबै लागे समस्याको समाधान गर्न सकिने सिंहको भनाइ छ । रासस