अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं १२ ओलानीको मछेली खोला र गनगडे खोेलामा आज भन्दा डेढ दशक पहिले निर्माण गरिएका झोलुङ्गे पुलहरु दिन प्रति दिन जिर्ण बन्दै गइरहेका छन् । दैनिक सयौको संख्यामा ओहोर दोहोर गर्ने उक्त झोलुङ्गे पुलहरुको मर्मत सम्भारका लागि सरोकारवाला निकायले चासो नदिदा पुल जिर्ण बन्दै गइरहेका हुन् ।
कैलालीको पर्यटकिय क्षेत्र समेत रहेको मछेली र गनगडे खोलाको माथि बनेको झोलुङ्गे पुलको उचित मर्मत सम्भारका लागि पटक पटक माग गर्दा पनि कहि कतैवाट कुनै सुनवाई नभएको गोदावरी १२ का स्थानियहरुले बताएका छन् । बिपिएल नामक संस्थाले आजभन्दा भण्डै २ दशक पहिले २०५८ सालमा मछेली खोला माथि र २०६० सालमा गनगडे खोला माथि उक्त झोलुग्गे पुल निर्माण गरेको थियो । दुईवटै पुल अहिले जिर्ण बनेर तल तिर झरिसकेका छन् । यसले गर्दा स्थानियहरु अहिले आवत जावत गर्न समेत डराइरहेका छन् ।
एका तिर सयौ स्थानियहरुको आवतजावतमा सहजता भैरहेको र अर्कोतिर जिल्लाकै एक पर्यटकिय क्षेत्रमा बनेको पुलको अबस्था जीर्ण बन्दै जादा पनि सम्बन्धित निकायले अहिले सम्म ध्यान दिन नसकेको गोदावरी नगरपालिका वडा नं १२ कुमिझाल चौकीका स्थानिय दिपक कुमार खत्रीले गुनासो गरे ।
'तपाईले देखिहाल्नु भयो पुलको अबस्था , यो पुल बनेको २० बर्ष पुग्न लागि सक्यो तर अहिले सम्म यसको मर्मत सम्भार त के पुलको अबस्था कस्तो छ भनेर पनि कोहि बुझ्न आएको छैन उनले भने - 'मर्मत सम्भारका लागि वडावाट त सिफारिस गरिदिन्छन् वडाअध्यक्षले तर पछि कुनै सुनुवाई हुदैन् । ' उनले अब पनि यसको मर्मत सम्भार नभए जुनसुकै बेला पनि अप्रिय घटना घट्न सक्ने बताए । गोदावरी नगरपालिका वडा नं ११ का स्थानिय गम मिजारले आफुपनि यस ठाँउमा पटक पटक पुग्ने गरेको र पुलको अबस्था हेर्दा निकै नाजुक भैसकेको बताए ।
उनले यो ठाँउ एक पर्यटकिय क्षेत्र समेत रहेकाले यँहा दैनिक ४० देखि ५० जना सम्म आन्तरिक पर्यटकहरु घुम्न र फोटो खिच्नका लागि आउने गरेको बताए । उनले अहिले सबैभन्दा पहिला सबैले त्यहि झोलुग्गे पुललाई रुचाइरहेको र त्यहि ठाउमा फोटो खिच्नेको भिड लाग्ने गरेको बताए । यद्धपी पुल निर्माण भएको धेरै बर्ष भैसकेकाले पुलका वरपर लगाएका मुख्य तारहरु , किलाकाटा र जाली सबै कमजोर र खलबल्ली सकेकाले यसको उचित मर्मत सम्भार हुन एकदमै आवश्यक रहेको मिजारको भनाई छ ।
मछेली खोला र गनगडे खोेलामा पुल निर्माण भएपछि गोदावरी नगरपालिकाको बिकट वडाका रुपमा रहेको वडा नं १२ को कुमिझाल , चौकी गाँउ , नाइन ,चाप सल्ली लगाएतका ठाँउका स्थानियहरुलाई आवतजावतमा निकै सहज भैरहेको छ । तर यसको रेखदेख र मर्मत सम्भार नहुदा पुल जिर्ण बनेको र कतिबेला के हुन्छ भन्न नसकिने अबस्था रहेको त्यँहाका स्थानियहरु बताउदछन् ।
भोलुग्गे पुलको दुवैतिर बनाइएका पिल्लरहरु समेत भत्किएर तारहरु बाहिर आएको उनीहरुको भनाई छ । यि दुवै पुलहरु ढिलै भएपनि अब भने मर्मत सम्भार गर्न अति आवश्यक रहेको स्थानिय शिक्षक डबल खत्रीले बताए । यसका लागि सबै भन्दा पहिले नगरपालिकाले मर्मत सम्भारका लागि भनेर बजेट छुट्याउनुपर्ने उनको माग छ ।
गोदावरी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले दशक पहिले बनेका पुलहरु बिगत ३÷४ बर्षदेखीि जिर्ण अबस्थामा रहेको बताए । उनले यसको मर्मत सम्भारका लागि पटक पटक स्थानियहरुले माग गरिहेको र आफुले पनि हरेक समय कार्यपालिका बैठकमा आबाज उठाउदै आएको बताए । यो पुलको समयमै मर्मत सम्भार नभए भबिष्यमा ठुलो खतरा निम्तन सक्ने भन्दै उनले यस बर्ष पनि पुलको मर्मत सम्भारका लागि स्थानियहरु सहित आफुले अनुरोध गरेको जानकरी दिए । यस बर्ष पुलको मर्मत सम्भार हुन्छ भन्नेमा आफुहरु आशावादी रहेको वडा अध्यक्ष खड्काले बताए ।
उता गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले आफु सोहि पुलमा हिडिरहदा निकै खतरा महशुस गरेको र यसको मर्मत सम्भार अति जरुरी रहेको बताइन् । उनले यसका लागि आफुले कार्यपालिका बैठकमा कुरा राख्ने र जति सक्दो चाडो मर्मत सम्भारको काम अघि बढाइने बताइन् ।