धनगढी- केही वर्षअघिसम्म सामान्य रुघाखोकी बिग्रँदा होस वा हड्डी भाँचिएको उपचार गर्न होस्, सुदूरपश्चिमका बासिन्दा भारतको लखनऊ, दिल्ली वा काठमाडौं जानुपर्ने हुन्थ्यो। तर केही समययता सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा मेरुदण्डको समेत सल्यक्रिया (अप्रेसन) हुन थालेपछि यहाँका बिरामीलाई निकै ठूलो राहत मिलेको छ।
निसर्ग हस्पिटलका न्युरो सर्जन विशेषज्ञ डा .सुरेश सापकोटाको टिमले एक बर्ष अघि धनगढीमै मेरुदण्डको सफल शल्यक्रिया सुरु गरेको थियो। सुदूरपश्चिमका विकट बस्ती र भीरपाखामा जोखिमपूर्ण काम गर्दा रुखबाट लडेर, भीरबाट खसेर यस क्षेत्रका थुप्रै नागरिकले मेरुदण्डको चोट सहनुपरेको छ भने कतिले मेरुदण्ड नै गुमाएको अवस्था छ।
यस्तो परिस्थितिमा आफ्नै प्रदेशको राजधानीमा उपचार पाउँदा सहज र कम खर्चिलो भएको पीडितहरु बताउँछन्। निसर्गमा मेरुदण्डको सल्यक्रिया सुरु भएपछि यस क्षेत्रका नागरिकले सुलभ र सहज रुपमा उपचार पाएको अस्पतालले जनाएको छ ।
सापकोटाको टिममा अर्थोपेडिक सर्जनद्धय डाक्टर श्रीराम खाती र डाक्टर ओमकार बिष्टसमेत संलग्न छन्। मेरुदण्ड मानव शरिरको महत्वपूर्ण अंग भएकाले यसको विशेष उपचार र ख्याल गर्नुपर्ने अर्थोपेडिक सर्जन डाक्टर ओमकार बिष्ट सुझाउँछन्।
निसर्गमा मेरुदण्डको सल्यक्रिया सुरु हुनुपूर्व ढाडको हड्डी भाँचिएका बिरामीले काठमाडौं वा भारतका विभिन्न सहर धाउनुपर्ने वाध्यता थियो, त्यो वाध्यता अब टरेकोमा निकै खुशी लागेको न्युरो सर्जन डा सापकोटाले बताए।
'मेरुदण्डको हड्डी भाँचिएका बिरामीलाई उपचारका लागि टाढा लैँजादा झन बढी समस्या हुन्छ, नजिकै त्यो उपचार सम्झव हुँदा जोखिम पनि घटेको छ,'उनले भने, 'उपचारपछि निको हुने सम्भावना पनि बढेको छ।'
उपचार पाइसकेका बिरामीलाई फलोअपका लागि आउँदा पनि नजिकैको अस्पताल भएकाले जोखिम घटेको निसर्गका अर्थोपेडिक सर्जन डाक्टर श्रीराम खातीले बताए।
सेवा सुरु गरेको एक वर्षमा निसर्ग हस्पिटलले ५० भन्दा बढी बिरामीको मेरुदण्डको शल्यक्रिया गरिसकेको अस्पतालले जनाउको छ । मेरुदण्डको शल्यक्रियको खर्च बिरामीको अवस्था हेरेर १ लाख ५० हजारदेखि २ लाख ५० हजारसम्म लाग्ने गरेको भनाइ छ।
मेरुदण्डको सल्यक्रियामा निसर्ग अस्पतालका न्युरो सर्जन डा सुरेश सापकोटा, अर्थोपेडिक सर्जनद्वय डा श्रीराम खाती र डाक्टर ओमकार बिष्ट, एनेस्थेसियोलोजिष्टद्वय डा हेमन्त ओझा र डा सुनिल भट्टसहितको टिमले गर्ने गरेको छ।