डोटी - शिखर नगर कार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । कार्यपालिकाले पूर्णता पाएपछि सोमबार पहिलो बैठक बसेको हो । बैठकले विभिन्न १० वटा निर्णयहरु पारित गरेको छ ।
नगर प्रमुख दीर्घ बलायरको अध्यक्षतामा बसेको बैठकले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता, सुत्केरी, अपाङ्गलाई जिल्ला भित्र एम्बुलेन्स सेवा निःशुल्क, सिफारिसमा छुट लगायतका निर्णयहरु गरेको छ ।
कार्यपालिकाको बैठकले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउने पहिलो निर्णय गरेको छ। भत्ता बुझ्न एभरेष्ट बैंकको गोपघाट शाखा र दिपायल शाखामा जान सेवाग्राहीलाई समस्या भएकाले नगरका विभिन्न ५ स्थानमा २ दिने घुम्ती भत्ता वितरण कार्यक्रम राख्ने निर्णय गरेको हो ।
घुम्ती भत्ता वितरण कार्यक्रममा सहभागी हुने बैंकका कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकको खाना, खाजा, बास र यातायात खर्च नगरले बेहोर्ने गरेर घुम्ती भत्ता वितरण कार्यक्रम राख्ने निर्णय भएको नगर प्रवक्ता धिर्क सिंहले जानकारी दिए ।
नगरको १,२ र ३ नम्बर वडाको भत्ता वितरण कालागाड, वडा नम्बर ४, ५ र ६ को माथिल्लो भेगको मुडभरा, वडा नम्बर ६, ८ र वडा नम्बर ११ को तल्लो भेग गोपघाट, वडा नम्बर ७ र ९ को उच्चाकोट र वडा नम्बर १० र ११ नम्बरको बानीडुग्रीसैनमा सामजिक भत्ता वितरण गरिने नगरपालिकाले जानकारी दिएको छ। यो कार्यक्रम प्रत्येक केन्द्रमा दुईदिन सञ्चालन गरिने छ ।
जेष्ठ नागरिकहरुलाई सहजता होस् र उनीहरूको खर्च कम होस् भन्ने उद्देश्यले बैंक सँगको सहकार्यमा यो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको नगर प्रमुख बलायरले बताए ।
त्यस्तै नगरदेखि जिल्लासम्म सुत्केरी महिला र अपाङ्गता भएका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने अर्को निर्णय गरिएको छ ।अकस्मात् उपचारका लागि जिल्लामा रहेका अस्पताल जानु परेमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराइने नगर उप प्रमुख सुनिता रावलले बताइन्। विशेष गरि आर्थिक अवस्था कमजोर भएका सुत्केरी महिलालाई लक्षित गरेर यो निर्णय गरेको उनले बताइन् ।
त्यस्तै कार्यपालिका बैठकले पंजीकरण विभागले तोकेको र व्यवसायिक प्रयोजनका सिफारिस बाहेक अन्य सिफारिसमा शुल्क नलिने निर्णय गरेको छ।योजना तथा अन्य सामान्य सिफारिसका लागि शुल्क नलिने निर्णय गर्दै सबै वडाहरुलाई उक्त निर्णय कार्यान्वयन गर्न भनिएको छ।
त्यस्तै विद्युत महसुल तिर्न हरेक महिना दिपायल स्थित विद्युत कार्यालय धाउनु पर्ने समस्या समाधानका लागि विद्युत कार्यालयसँग समन्वय गरेर सम्बन्धित वडा बाटै महसुल तिर्न सकिने व्यवस्था मिलाउन पहल गर्ने अर्को निर्णय भएको छ ।वडा कार्यालय नजिक तालिम प्राप्त व्यक्तिलाई केही दिनका लागि खटाइने र सो अवधिमा महसुल तिर्न सूचना जारी गर्ने जनाइएको छ । अनलाइन सफ्टवेयर मार्फत विद्युत महसुल तिर्न व्यवस्था गर्न नगरका केही व्यक्तिहरूलाई अनुमति र तालिम प्रदान गरिने छ।
मालपोत कर तिर्नका नगरपालिका धाउनु पर्ने समस्या समाधानका लागि सबै वडामा इन्टरनेटको व्यवस्था गरेर वडा कार्यालय बाटै कर तिर्ने व्यवस्था मिलाइने निर्णय पनि भएको छ । थोरै कर रकम तिर्न सेवाग्राहीले बढी रकम र समय खर्च गर्नुपर्ने बाध्यता हटाउन वडाबाटै कर तिर्न सकिने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ।
बैठकले नगर क्षेत्रभित्र फाइबर इन्टरनेट विस्तारका लागि पहल गर्ने,नगरवासीको घरघरमा सेवा प्रदायक संस्था, व्यक्ति र जनप्रतिनिधिको नम्बर सहितको फोन डायरी,वडा नम्बर १० लाई विभाजन गरेर एक वडा थप्न सिफारिस गरेर पहल गर्ने,नगर सरकारका प्रवक्ता चयन,धन्यवाद ज्ञापन र नगर बसमा जेष्ठ नागरिक, अपाङ्गता भएका र पत्रकारलाई भाडा छुट गरिँदै आएको निर्णयलाई निरन्तरता दिने निर्णय गरिएको छ।