अर्घाखाँची – रोल्पाको थबाङमा पहिरोले ६ जना पुरिएका छन् । थबाङ २ छेर्लबाङमा बिहीबार मध्यरातमा आएको पहिरोले घर पुरेको हो । पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएका थिए ।
पहिरोबाट पुरिएका २ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षका छोरा असलको शव पुरिएको अवस्थामा गाउँलेले र प्रहरीले शुक्रबार बिहान फेला पारेका हुन् । गाउँलेका अनुसार सुतेकै अवस्थामा पहिरोले च्यापिएर मृत अवस्थामा उनीहरू फेला परेका हुन् ।
अर्को परिवार भुइँतलाको कोठामा भएकाले पुरिएको हुनसक्ने अनुमान गरिएको छ । पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन् । उद्धारमा खटिएका गाउँलेले उनीहरु जीवितै फेला पर्ने सम्भावना कम रहेको बताएका छन् । घरमा रहेका चौपाया पनि पुरिएका छन् ।
गाउँलेले बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए । थबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्र गुरुङले जानकारी दिएका छन् ।
दुईवटा जीप पहिरोमा पुरिए, एक जनाको मृत्यु
पाल्पा स्थित सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका २, दोभान नागथान नजिकै माथिबाट खसेको पहिरोले दुई वटा सवारी साधन पुरेको छ । घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीपका चालक कमल परियार छन् । पुरिएको जीपबाट ६ जनाको उद्दार गरिएको छ । पाल्पाबाट बुटवल हिँडेको लु २ च ५९३८ स्कारपियो र बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जिप पुरिएका हुन् ।
घाइतेहरुलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवलतर्फ लगिएको छ । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ ।