काठमाडौं – विभिन्न बैंकबाट ऋण लिएर नतिर्नेहरुको संख्या हरेक वर्ष बढिरहेको छ । आर्थिक वर्ष ०७५/७६ मा मात्रै २ हजार ८ सय ४२ जना ऋणीहरु कालोसूचीमा परेका छन् ।
ऋण लिएर तोकिएको समयमा नतिरे बैंकले केही समय दिन सक्छ । थपेको समयमा पनि ऋण चुक्ता नगरे बैंक तथा वित्तीय संस्थाहरुले कालोसूचीमा राख्नका लागि कर्जा सूचना केन्द्रमा पत्राचार गर्छन् ।
कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार हाल ९ हजार ३ सय ५४ ऋणी कालोसूचीमा छन् । ०४६ सालदेखि केन्द्रले खराब ऋणीलाई कालोसूचीमा राख्न थालेको हो । कालोसूचीमा राखिए पनि ऋण भुक्तानी गरिसकेपछि भने कालोसूचीबाट हटाउनु पर्छ ।
बाँसबारी छालाजुत्ता लगायत धेरै उद्योग ०४६ साल देखि अहिले सम्म निरन्तर कालोसूचीमा छन् । नयाँ आर्थिक वर्ष सुरु भएयता मात्रै ८१७ जना ऋणी कालोसूचीमा परेका छन् । बुधबार एक दिनमै केन्द्रले ९ जना ऋणीलाई कालोसूचीमा राखेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार ०७५/७६ को असार मसान्तसम्म ऋणीहरुको खाता संख्या १४ लाख ३९ हजार ६ सय ४८ छ । ५ वर्ष अघिको तथ्यांक हेर्ने हो भने आ.व. ०७१/७२ मा १० लाख ३३ हजार ३ सय ८४ वटा ऋण खाता थिए । यी खातामध्ये ऋण नतिरेर ९३० जना कालोसूचीमा परे । ९३० मध्ये २७९ जनाले ऋण चुक्ता गरेर कालोसूचीबाट उम्किएका छन् ।
आ.व. ०७२/७३ र ०७३/७४ मा ऋण खाता तीव्र बढ्यो । ०७२/७३ मा १० लाख ९६ हजार ऋण खाता थिए भने ०७३/७४ मा १२ लाख १६ हजार ९१ पुग्यो । तर यी २ वर्ष ऋण नतिर्नेहरुको संख्या ठूलो देखिएन । ०७२/७३ मा ८३३ र ०७३/७४ मा ८३४ जना ऋणी कालोसूचीमा परेका थिए । यस्तै, ०७२/७३ र ०७३/७४ मा क्रमशः ३०८ र ३७२ जना ऋणी कालोसूचीबाट हटे ।
तर, ०७४/७५ मा भने फेरि कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्यो । त्यस वर्ष ऋण खाता संख्या १३ लाख १ हजार पुग्दा १ हजार ३ सय ३५ जना ऋणी कालोसूचीमा थपिए । त्यसमध्ये ३४१ जना मात्रै कालोसूचीबाट हट्न सफल भए ।
सूची लम्बिने क्रम गत आर्थिक वर्षमा पनि रोकिएन । आ.व. ०७५/७६ मा १४ लाख ३९ हजार ६ सय ४८ ऋण खाता हुँदा २ हजार ८ सय ४२ जना कालोसूचीमा परेको नेपाल राष्ट्र बैंकले बताएको छ । गत वर्ष ६२८ जनामात्रै ऋणी कालोसूचीबाट हटेका थिए ।