धनगढी - गत २०७४ को स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिका प्रमुख ,उपप्रमुखसहित १२ वटा वडा जितेको नेपाली कांग्रेस यसपटक ११ वडामा मात्र सीमित भएको छ।
सुदुरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिका गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका निवर्तमान नगर प्रमुख नृपबहादुर वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजित भए। २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नृप वडसँग पराजित हमाल अहिले उनै वडलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
हमालले २६ हजार ८६५ मत पाउँदा वडले १४ हजार ८१७ मत पाएका छन्। यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन्।
गत निर्वाचनमा उपप्रमुख जितेको पद यस पटक गठबन्धन गर्दा माओवादी केन्द्रको भागमा परेको थियो। माओवादीकी उम्मेदवार शान्ति अधिकारी क्षेत्रीलाई हराउँदै एमालेले पाएको छ।
उपमहानगरपालिकाको उपप्रमुखमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी हुन्। उनले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। उपप्रमुखका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत ल्याए ।
प्रमुख र उपप्रमुख दुवै गुमाएको कांग्रेसले १९ वटामध्ये ११ वडा मात्र जितेको छ। यस पटक कांग्रेसले वडा नम्बर १, २, ३, ४, र ५ सँगै ९, १३, १४, १५, १७ र १९ नम्बर वडा विजयी भएको छ ।
नेकपा एमाले
गत २०७४ स्थानीय तहको निर्वाचनमा २ वडामा सीमित नेकपा एमाले यस पटक उपप्रमुखसहित ६ वडा जितेको छ। उसले उपप्रमुखसहित वडा नम्बर ७, ८, १०, ११, १२ र १८ जितेको हो।
माओवादी केन्द्र
माओवादी केन्द्रले गत २०७४ स्थानीय तहको निर्वाचनमा ५ वटा वडा जितेकोमा यसपटक ३ वडा गुमाएको छ। उसले अहिले वडा नम्बर ६ र १६ मात्र जितेको छ।