धनगढी -जेलबाटै दर्ता भएको 'नागरिक उन्मुक्ति पार्टी'ले कैलालीमा पहिलो स्थान ल्याउन सफल भएको हो। गत पुसमा जेलमा रहेका रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठको संयोजकत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता भएको थिए।
कैलालीमा चार स्थानीय तहको प्रमुख र तीन उप प्रमुखमा जित निकालेर नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको हो । जोशीपुर र जानकी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, टीकापुर नगरपालिकाको प्रमुख र भजनी नगरपालिकाको प्रमुख/उपप्रमुखमा विजयी भएर पहिलो दल बन्न सफल भएको हो।
२०७४ को निर्वाचनमा टीकापुर नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस, जोशीपुर गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षमा कांग्रेस, भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएका थिए।
जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले ५ हजार २ सय ४२ मत पाउँदा एमालेका टङ्कबहादुर बमले ४ हजार २ सय ४१ मत ल्याए। त्यसैगरी, उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५ सय २६ मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट माओवादीका जयप्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे। राजनीतिमा आउनुअघि गणेश चौधरी पत्रकारिता क्षेत्रमा सक्रिय थिए।
भजनी नगरपालिकामा निवर्तमान नगरप्रमुख तथा गठबन्धनको भाग पाएका माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गर्दै नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भएका छन्। यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४ सय मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन्। प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र नेपाली कांग्रेसले १ वडाध्यक्ष जितेका छन्।
यस्तै, कांग्रेसको पकड क्षेत्रका रूपमा रहँदै आएको कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन्। ४ हजार ९ सय ३ मत प्राप्त गरी चौधरी विजयी भएका हुन्। नेपाली कांग्रेसका बंसराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरे। गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन्। उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन्।
उता, धनगढीपछि कैलालीको अर्को ठूलो व्यापारिक नगरीका रूपमा परिचित टीकापुर नगरपालिकाको मेयरमा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै डगौरा विजयी भएका हुन्। डगौरा ९ हजार ६ सय ४२ मत पाउँदै विजयी भएका हुन् भने रावलले ६ हजार ६४२ मत पाए। यस्तै, उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन्।
नागरिक उन्मुक्तिका यी ४ स्थानीय तहबाहेक कैलालीको गोदावरी, कैलारी र लम्कीमा काङ्ग्रेस, गौरीगंगा र मोहन्यालमा माओवादी केन्द्र, चुरे र बर्दगोरियामा एमाले तथा घोडाघोडीमा एकीकृत समाजवादी विजयी भएको छ। धनगढीमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक छन्।
२०७४ को निर्वाचनमा जिल्लामा एमालेले सात पालिका, कांग्रेसले तीन, माओवादी केन्द्रले दुई र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले एक पालिका प्रमुख जितेको थियो।