बैतडी -स्थानीय तहको निर्वाचनमा बैतडीमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले बराबरी जित हासिल गरेका छन् । मतपरिणामअनुसार कांग्रेस र एमालेले चार-चार तथा नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र उम्मेदवार एक-एक पालिकामा विजयी भएका छन् ।
कांग्रेसले पुर्चांडी र पाटन नगरपालिका तथा शिवनाथ र सिगास गाउँपालिकामा जित हासिल गरेको छ । एमाले दशरथचन्द नगरपालिका तथा पञ्चेश्वर, दोगडाकेदार र सुर्नया गाउँपालिकामा विजयी भएको छ । यस्तै माओवादी केन्द्र मेलौली नगरपालिकामा तथा डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
पुर्चांैडीमा कांग्रेसका दीपकबहादुर बम नगरप्रमुख तथा उपप्रमुखमा कांग्रेसकै मीना धानुक विजयी भए । बमले एमाले र धानुकले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेका छन् । बमले ५ हजार ८८० तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर कुँवरले ३ हजार ९६५ मत ल्याउनुभयो । उपप्रमुखमा धानुकले ५ हजार २०० उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी जानकी बोहराले ४ हजार ६१२ मत ल्याए ।
यस्तै पाटन नगरपालिकामा कांग्रेसका गौरीसिंह रावल ६ हजार ८६९ मत ल्याएर विजयी भए । रावलले निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण भण्डारीलाई एक हजार ५७९ मतान्तरले पराजित गरेका हुन् । शिवनाथ गाउँपालिकामा कांग्रेसका कर्णसिंह साउदले एमालेकी सुकन्तला साउदलाई ३१६ मतान्तरले पछि पार्दै विजयी भइन् । साउदले तीन हजार १६५ मत प्राप्त गरिन् ।
यसैगरी सिगास गाउँपालिकामा कांग्रेसका हरिसिंह धामी तीन हजार ४४९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जस्वीरसिंह बोहराले एक हजार ६४९ मत प्राप्त गरे। दशरथचन्द नगरपालिकाको प्रमुखमा एमालेका पुष्कराज जोशी ‘लख्खाभाइ) ६ हजार ६८५ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गजेन्द्र रावलले पाँच हजार ४२७ मत ल्याए ।
यस्तै पञ्चेश्वर गाउँपालिकामा एमालेका गोरखबहादुर चन्द विजयी भए । उनले तीन हजार ७४२ मत ल्याउनुभयो भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश भण्डारीले दुई हजार ४८८ मत प्राप्त गरे । दोगडाकेदार गाउँपालिकामा एमालेका चक्र कार्की विजयी भए । उनले चार हजार ९१७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज जोशीले चार हजार ९१ मत पाए । सुर्नया गाउँपालिकामा एमालेका अम्मर कुँवरले नेकपा (एकीकृतका समाजवादी) का नरेन्द्र विष्टलाई २६ मतले पराजित गरे । कुँवरले दुई हजार ३५० तथा विष्टले दुई हजार ३२४ मत प्राप्त गरे ।
यसैगरी मेलौली नगरपालिका प्रमुखमा माओवादी केन्द्रका भीमबहादुर चन्द विजयी भए। उनले तीन हजार ९६ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जगदीश नायकले दुई हजार ३७६ मत प्राप्त गरे । डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भए । जोशीले तीन हजार १८९ तथा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र रानाले दुई हजार ६४१ मत पाए । बैतडीमा १० स्थानीय तहमा ८४ वडाध्यक्ष र ३३६ वडा सदस्य निर्वाचित भएका छन् ।