अत्तरिया – कैलालीमा रहेको गोदावरी नगरपालिकाले सबैभन्दा बढी राजस्व संकलन गर्दै आएको नदीजन्य पदार्थ बिक्रि करमा कमी आउने देखिएको छ । गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा ,गिट्टि, बालुवा) बिक्रि बाफत लिदै आएको राजस्व ठेक्का मार्फत संकलन गर्दै आएकोमा चालु आर्थिक बर्षमा गत आर्थिक बर्षको भन्दा कममा ठेक्का सम्झौता गर्नका लागि प्रवाहग्राही छनोट गरिएको छ ।
गोदावरी नगरपालिका भित्रबाट नदीजन्य पदार्थ बिक्रि हुँदै आएका खुटिया , खैराना र गोदावरी नदीबाट ढुङ्गा , गिट्टि , बालुवा , ग्राभेल लगायतका नदीजन्य पदार्थ बिक्री शुल्क संकलनका लागि साउन २१ गते बोलपत्र आह्वान गरेको थियो । जसमा खुटिया र खौराना नदीबाट कर संकलनका लागि गत बर्षको भन्दा कममा रकम कबोल गर्ने प्रवाहग्राही छनोट गरिएको छ ।
सबैभन्दा बढी राजस्व संकलन हुने खुटिया नदीमा गत आर्थिक बर्ष २०७५/०७६ मा ८ करोड ७९ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक बर्षका लागि ८ करोडमा स्वाँर कन्स्ट्रक्सन प्राली संग बिक्रि शुल्क संकलनका लागि छनोट भएको गोदावरी नगरपालिकाका आन्तरिक लेखा परिक्षण अधिकृत राजेश प्रसाद जोशीले बताए । जुन गत आर्थिक बर्षको भन्दा ७९ लाखले कम हो ।
त्यस्तै आर्थिक बर्ष २०७५/०७६ मा १ करोड ९१ लाख राजस्व संकलन भएको खैराना नदीबाट बिक्रि शुल्क संकलन लागि चालु आर्थिक बर्षका लागि १ करोड ५० लाखमा नै स्वाँर कन्स्ट्रक्सन प्राली छनोट भएको छ । जुन गत आर्थिक बर्ष भन्दा ४१ लाखले कम हो ।
गोदावरी नदीमा भने गत आर्थिक बर्षको भन्दा चालु आर्थिक बर्षका लागि बढी रकममा बिक्रि शुल्क संकलनका लागि छनोट भएको छ ।गोदावरी नदीबाट आर्थिक बर्ष २०७५/०७६ मा १ करोड २ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक बर्षको लागि १ करोड ८१ लाख १० रुपैँयामा भवानी कन्स्ट्रक्सन छनोट भएको छ । नदीजन्य पदार्थ बिक्री शुल्क संकलनका लागि सम्झौता भएर असोज १ गते देखि लागु हुनेछ ।
आर्थिक बर्ष २०७५÷०७६ मा तिन वटै नदीबाट ११ करोड ७२ लाख राजस्व संकलन भएको थियो । तिन ओटै नदीमा चालु आर्थिक बर्षमा भएको छनोट अनुसार ११ करोड ३१ लाख १० रुपैँया राजस्व संकलन हुने देखिएको छ ।
आन्तरिक लेखा परिक्षण अधिकृत जोशीले खुटिया र खौराना नदीमा गत आर्थिक बर्षमा ठेकेदारहरुलाई घाटा भएको भन्ने हाल्लाले गर्दा कम रकम कबुल भएको हुन सक्ने बताए । उनले गोदावरी नदीमा भने गत बर्ष भन्दा बढी बोली लागेको बताए ।
उनले ३ ओटै नदी बाट ढुंगा , गिट्टि , बालुवा , ग्राभेल आदी नदीजन्य पदार्थ संकलनका लागि बोलपत्र आव्हान गरेकोमा खुटिया नदीका लागी ४ , खौराना नदीका लागि ५ र गोदावरी नदीका लागि ७ ओटा बोलपत्र परेको बताए ।