काठमाडौं – १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो ।
अब नेपालबाट नयाँ कामदार कामदार मलेसिया जान पाउने छन् । कामदारहरु अब शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ ।
दुई देशबीच गत कात्तिक १२ गते भएको श्रम मसझदारी कार्यान्वयन गर्ने सहमति भएको वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार मलेसिय सँग सेक्युरेटी गार्डको हकमा पनि सो समझदारी लागू गर्न मलेसिया तयार भएको छ ।
म्यानपावर व्यवसायी देखि विभिन्न राजनीतिक दल र कामदारहरुले मलेसियाको रोजगारी खुलाउन दवाव बढाइरहेको बेला क्वाललम्पुरमा भएको तीन दिने वार्तामा यस्तो सहमति जुटेको हो ।
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अधिकारीका अनुसार अब श्रम समझदारी अनुसार मलेसियामा नयाँ कामदार जान पाउनेछन् ।
नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १ सय २२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । विगतमा ३६ वटा मात्रै मेडिकललाई दिइएको अधिकार तोड्ने गरी नयाँ सूचीकरण भएको हो ।
सहमति अनुसार अब यी संस्थाहरुमा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बर सम्म नयाँलाई स्वीकृति प्रदान गर्नुपर्ने छ । तत्कालका लागि भने ३६ पुरानै संस्था मार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिने छ ।
सरकारले मलेसिया सँग श्रम समझदारीमा हस्ताक्षर भएको १० महिना बितेको छ । तर, रोजगारी खुल्ने छाँट नदेखिएपछि वैदेशिक रोजगार व्यवसायीहरु असन्तुष्ट थिए ।
म्यानपावर कम्पनीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न ढिलाइ भए पूर्वस्वीकृतिका आधारमा कामदारको अन्तरवार्ता लिन सुरु गर्ने चेतावनी दिँदै आएको थियो ।
मलेसिया जाने कामदार माथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै सरकारले २०७५ को जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । श्रममन्त्री विष्टले ठगी गर्नेमाथि कारवाही अभियान चलाएका थिए ।