डडेल्धुरा- जिल्लाको गन्यापधुरा गाउँपालिका–२ को महाभारत वनक्षत्रको घनाजङ्गलमा लाग्ने लाटागन्यापको ‘शिखरजाँत’ आज राती हुँदैछ । प्रत्येक बर्ष भाद्र चतुर्दशीको राती लाग्ने धार्मिक शिखर मेलाको आफ्नै महत्व र गौरव छ । शिखरको गात ‘ठूलो ढुङ्गा’ सम्म पुग्नु भन्दा अगाडी विभिन्न ठाउँ–ठाउँमा दुध ढाल्नेमा दुध, अगरबत्ति तथा फूलपाती चढाएर पुजाआजा गरेर जाने विशेष परम्परा रहेको छ ।
शिखर पुग्नु अगाडी गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ । भने बिहान १० बजे हिनेका दर्शनार्थी साँझ ७÷८ बजे तिर गात शिखरमा पुग्ने गरेका छन्। शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन । गन्यापधुरा गाउँपालिका स्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानडुङ्ग्रीसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ । देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरुमा दाइन दमाहा तथा भोक्करहरु ‘ठोकाइन’ बजाएर जाने गरिन्छ ।
दमाहा पनि लाटागन्याप देवताबाट विशेषा अधिकार प्राप्त दमाइहरुले मात्रै बजाउने गरेका स्थानीय पण्डित शंकरप्रसाद जोशीले बताएका छन् । मेला भर्नको लागि जाने दर्शनार्थीहरुले एक साता अगाडी देखि नै शुद्ध खानेकुरा खाने गर्दछन्। यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भै चोखो मनले मागेको वरदान पुरा हुने धार्मिक विश्वास रहेको छ ।
मेला भर्नको लागि डडेल्धुरा, डोटी लगायत शुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरुबाट भक्तजनहरु आउने गरेको लाटागन्याप क्षेत्र विकास समितीका अध्यक्ष पूर्णबहादुर देउबाले जानकारी दिए। जाँतमा गाइने देउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका उनको भनाइ रहेको छ ।
भाट–भटेनीको विशेष महत्व
भाट भटेनीको छोडेछ नाउँ!
चल गोसाईं गणपति शिखर जाउँ!!
पौराणिक मान्यता अनुसार रुमाइलगाउँका आदि पुरुष फुल भाट ले पत्नी सहित द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेंलो सर्पको रुपमा प्रकट भएको विश्वास छ । अनि फुल भाटकी श्रीमतिले सर्पलाई कहाँ राख्ने भनि विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहीं राखि दिएका थिईन ।
त्यसपछि फुलभाटको घरमा अन्नको कमी कहिल्यै नभएको मानिन्छ । फुल भाटकी श्रीमति निष्ठावान भएकीले एकदिन एकजना गाउँलेले के नै गर्ने रहेछन् भनि जाँच्नका लागि फुल भाटको लौरो चोरेर लगे त्यसपछि फुल भाटकी श्रीमतिलाई फुलभाटले खाना नकुर्नु भनि खबर पठाएको र प्रमाणका रुपमा लौरो ल्याएको भनि लौरो देखाएछ ।
फुल भाटकी श्रीमतिले विश्वास गरेर खान सुरु गर्दा पति घर पुगेछन् । अनि हतार हतार थाली कता लुकाउने भनि खोज्दा त्यही धानको भकारीमा हाल्न पुगिन । त्यसपछि देवताले अपमान भएको भनि ठानी त्यहाँबाट बाहिरिएर गएको किँवदन्ति स्थानीय जेष्त नागरिक बताउँछन् । फेरी दुवै पतिपत्नी पछिपछि माफी माग्दै हिँडेछन् ।
अनि देवता शिखरको शिलामा पुगि बिलीन भएछन् । त्यहीं भाट दम्पतीले पनि मुक्ति पाएको किँदन्ति छ । शिखरको गात ‘ठूलो ढुङ्गामा’ अझैपनि नाग देबता हिडेको छाप देख्न सकिन्छ ।
अझै ओझेलमा शिखर
प्रशिद्ध धार्मीक शक्तिपिठ लाटागन्यापको व्यापक प्रचार–प्रसार हुन नसक्दा अझै पनि ओझेलमा परेको छ । शिखरमा विभिन्न पुर्वाधारको अभाव हुँदा दर्शनार्थीहरुको आकर्षण बन्न सकेको छैन । बर्षमा एकचोटी मेलामा मात्रै मान्छेहरुको सो ठाउँमा चहलपहल रहन्छ । यदि सो ठाउँलाइ सुगम बनाउन सके दैनिक चहलपहल गर्न सकियो भने पर्यटक भित्र्याउनको लागि पनि सो ठाउँले प्रचुर सम्भावना बोकेको बुज्रुकहरु बताउन्छन् ।