कैलाली - आसन्न स्थानीय तहको निर्वाचनको मौनअवधि आज राति १२ बजेदेखि सुरु हुने भएपछि कैलाली जिल्लामा चुनावका प्रत्यासी मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन्। निर्वाचनका प्रत्यासीले आज जिल्लाका टोल र बस्तीमा मोटरसाइकल ¥याली, भेला, सभा गर्दै आ–आफ्नो पक्षमा माहोल सिर्जना गर्न अन्तिम कसरत गरेका हुन्।
दिनभरि नै प्रत्यासी घरदैलो गरेरसमेत मत मागिरहेका देखिन्थे। मतदातासँग उम्मेदवारले सहयोगका लागि अपिल गरिरहँदाको दृश्य रोचकसमेत देखिएको थियो। एक पक्षको उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरआँगनमा पुगेर मत मागिरहँदाको दृश्य रोचक देखिएको धनगढी उपमहानगरपलिकाका बलबहादुर चौधरीले बताए।
निर्वाचन गराउन कैलाली जिल्लाका सबै १३ पालिकामा झण्डै तीन हजार ९०० कर्मचारीलाई निर्वाचन सामग्रीसहित खटाइएको छ। यी पालिका तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले कर्मचारीलाई नियुक्ति पत्र दिई निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पठाउने काम सम्पन्न भएको बताए। प्रत्येक मतदान केन्द्रमा कम्तीमा पाँच जना कर्मचारी खटाइएको छ। जिल्लाका १३ पालिका तहका ६३० पदका लागि चुनाव हुँदैछ। यसका लागि जिल्लाभर तीन हजार ७२ जना प्रतिस्पर्धी छन्।
चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त र सुदृढ पारिएको छ। निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्थापन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम घेरामा आवश्यकताअनुसार नेपाली सेना परिचालन गर्न सकिने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। स्थानीय तह निर्वाचन एकीकृत जिल्ला सुरक्षा योजनाबमोजिम जिल्लाको भौगोलिक विकटताका साथै सडक सञ्जाल र सञ्चारको असुविधालाई समेत आधार मानेर ठाउँअनुसार सुरक्षा व्यवस्थापन मिलाइएको जनाइएको छ।
प्रजिअ थापाले भने, “यसका लागि मतदान हुनुभन्दा पहिलेको समय, मतदानको समय र मतदानपछिको समय गरी तीन चरणको सुरक्षा व्यवस्था मिलाइएको छ।” भौगोलिकरूपमा विकट, सडक सञ्जाल र फोन सेवाको असुविधा रहेको मोहन्याल गाउँपालिकामा निर्वाचन सकिएपछि मतपेटिका ढुवानीको व्यवस्थापन गर्न हेलिकप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयलाई लेखी पठाइएको प्रजिअ थापाले बताए।
नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रशासन प्रमुखको बैठकमा भएको सहमतिबमोजिम मतदानको ४८ घण्टा अघिअर्थात् आजै रातिदेखि सीमा नाकामा आवागमन बन्द गर्न लागिएको छ। अत्यावश्यक सेवा प्रवाहको हकमा भने सीमा नाकामा आवागमन गर्न वाधा अवरोध नपुग्ने बताइएको छ।
निर्वाचनलाई लक्षित गरी आजै राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराको बिक्री वितरण तथा सेवन गर्न स्थानीय प्रशासनले पूर्णरूपमा निषेध गरेको छ। कैलाली जिल्लामा १३ पालिका तहमा कूल पाँच लाख २५ हजार १२५ मतदाता छन्। रासस