कञ्चनपुर- स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादकपदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाइएको हो।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ६(घ) एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार मादक पदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाइएको छ। नियम विपरीत कार्य गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही हुनेसमेत जनाइएको छ।
नेपाल–भारत सीमा नाका बन्द
निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा नेपाल–भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ। निर्वाचनलाई मध्यनजगर गरी आजदेखि वैशाख ३० गते शुक्रबार मतदानकार्य सम्पन्न नभए सम्मका लागि जिल्ला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६(झ)एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ।
सवारी साधन सञ्चालनमा रोक
निर्वाचनका दिन बिहान ५ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक विद्युत, खानेपानी ट्याङकर, नेपाल टेलिकम, एम्बुलेन्स शव बाहन, स्वास्थ्य संस्थाको गाडी, दमकललगायत सञ्चालनमा भने रोकतोक गरिएको छैन।
आधिकारिक निकायबाट निर्वाचन प्रयोजनका निमित्त अनुमति लिएका सवारीसाधन बाहेकक अन्य सार्वजनिक निजी सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
रासस