काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले नेपाल–भारत सिमानामा तारबार र पर्खाल लगाउनुपर्ने बताएकी छन् । बुधबार बसेको संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुनै मुलुकले अर्को मुलुकमाथि हस्तक्षेप गर्न नहुने भन्दै भारत सँगको सीमामा तारबारको जरुरी रहेको बताएकी हुन् । ‘कुनै मुलुकमाथि अर्को मुलुकलले हस्तक्षेप गर्नुहन्न ।
हाम्रो भूगोल रक्षाका लागि भारत सँग जोडिएको सिमानामा तारबार र पर्खाल लगाएर नियमन गरौँ’, उनले भनिन, ‘आफ्नो भूगोल बचाउन यो काम गर्नैपर्छ । तारबार लगाएपछि सीमानामा निश्चित नाका बनाउनुपर्छ । ती नाकाबाट परिचयपत्र या अन्य कुनै आधिकारिक कागजपत्रबाट आवतजावत गर्न दिनुपर्छ ।
’ भुसालले हरेक हप्ता, महिना, वर्ष मिटर देखि किलोमिटरका दरले भारतले नेपालको भूगोल मिचिरहहेको स्मरण गराइन् । ‘त्यो भारतीय जनताले गरेको होइन । किसानले गरेको होइन’, उनले भनिन, ‘भारतीय सीमा सुरक्षा बलले हतियारका आडमा गरेको हो । अस्त्र शस्त्रका बलमा गरेको हो ।’ नेपालको सीमा समस्या भारत सँग मात्रै रहेको बताउँदै उनले यस्तो खुला सीमा व्यवस्था संसारमा अन्त कहीँ नभएको जिकिर गरिन् ।
‘संसार कहीँ पनि यस्तो देश छैन, जहाँ यस्तो खुल्ला सीमा व्यवस्था होस’, उनले थपिन, ‘भारतकै अन्य देशसँग पनि बन्द सिमाना छ । तर नेपालमा चाहिँ खुल्ला राखिँदा भारतले दैनिक मिचिरहेको छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदलाई छलेर भए पनि मेक्किोसँगको सीमानामा पर्खाल लगाउन अर्बौँ खर्च गरिरहेका उदाहरण उनले दिइन् । ‘तर हाम्रो खुल्ला छ’, भुसालले भनिन, ‘भारतको एक प्रतिशत मात्रै जनसंख्या नेपालमा आउने हो भने के हुन्छ ? कहिले सोचेका छौँ ।’
कञ्चनपुरमा २०१६ मा राजा महेन्द्र जाँदा रहेको सिमाना अहिले एक घण्टा पैदल वर आइसकेको उनले दाबी गरिन् । ‘त्यहाँ राजा महेन्द्र गएका एक घण्टा पररहेको सिमाना अहिले भारतले मिचेर एक घण्टा वर आइसकेको हामीलाई स्थानीयले बताए’, भुसालले सुनाइन, ‘भारतले मिच्दा नेपाल खुम्चिएको छ । सीमानामा सेना र सशस्त्र प्रहरी राखौँ । ठेक्का बरु अरुलाई लगाउँला ।’