कैलाली- सूदूरपश्चिम प्रदेशको कैलालीका चार स्थानीय तहमा सत्ता गठबन्धनविरुद्ध ८ जना बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीविरुद्ध बागी उम्मेदवारी दिएर ८ जना घरदैलो अभियानमा व्यस्त भएका हुन्।
कतिपय उम्मेदवार त पार्टीले आधिकारिक नभने पनि उक्त पार्टीकै चुनाव चिह्नबाट उम्मेदवार बनेका छन्।जिल्लाका ४ स्थानिय तह कैलारी गाउँपालिका , चुरे गाउँपालिका ,गोदावरी नगरपालिका र जोशीपुरगाउँपालिमा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
माओवादी केन्द्रको भागमा परेको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसबाट राजसमझ चौधरी चुनावी मैदानमा होमिएका छन्। उनले रुख चिह्नमै भोट मागिरहेका छन्। पार्टीको आधिकारिक पत्रबाट उम्मेदवारी दिएका उनले उम्मेदवारी फिर्ता नगरेपछि रुख चिह्न नै पाएका हुन्। तर कांग्रेसले भने उनलाई आफ्नो आधिकारिक उम्मेदवार नभएको जनाएको छ।
यस्तै, माओवादी केन्द्रबाट चुरे गाउँपालिकाको अध्यक्षमा टेकबहादुर रजवार, उपाध्यक्षमा डिला सिजापती र नेकपा एकीकृत समाजवादीका कृष्णकुमार खत्री बागी उम्मेदवार बनेर भोट मागिरहेका छन्। कैलारी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रबाट लक्ष्मी सत्गौवा, माओवादी केन्द्रबाटै गोदावरी नगरपालिकाको मेयरमा विक्रम विश्वकर्मा, उपमेयरमा रिमा खड्का र जोशीपुरको उपाध्यक्षमा कांग्रेसबाट किरण चौधरीको बागी उम्मेदवारी छ।
यस्तै, सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तीन दलीय गठबन्धनले पार्टीका सदस्य तथा नेता, कार्यकर्ता रहेर पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरुमाथि कार्बाही गर्ने निर्णय गरिएको जानकारी दिएको छ।तीन दलीय गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त रुपमा यस्तो निर्णय गरेका हुन्।
कैलालीमा तीन दलीय गठबन्धनले बागी उम्मेदवारी दिनेमाथि कार्बाही गर्ने निर्णय गरेको छ।