बैतडी – २०७५ को असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्य सहित निर्माण कार्य सुरु गरिएको विमानस्थल म्याद सकिएको १४ महिना बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
निर्माण कम्पनीको लापरवाहिका कारण म्याद सकिएको १४ महिना बितिसक्दा विमानस्थल कालोपत्रे हुन नसकेका स्थानियले आरोप लागाएका छन ।
निर्माण कम्पनीले भने निर्माण सामग्री अभावका कारणमा समयमै काम नसकिएको बताएको छ । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर पीच मात्रै गर्न बाँकी रहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताए ।
’निर्माण सामग्रीको अभावले तोकिएको समयमा काम पूरा हुन नसकेको हो,’ उनले भने, –‘ठेक्का भइसके पछि विविध कारणले काम समयमै सुरु नहुँदा पनि समस्या भएको हो ।’ वर्षातको कारण र अन्य प्राविधिक कारणले पनि केही ढिलाइ भएको र अलकत्रा र गिट्टीको अभावले समयमै कालोपत्रे गर्ने काम नसकिएको रावलको भनाइ छ ।
पाटन विमानस्थललाई स्तरोन्नती गर्ने कार्य अन्तर्गत ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । वर्षात भइरहेकाले कालोपत्रेको काम रोकिएकाले वर्षात सकिने बित्तिकै कालोपत्रेको काम सुरु गर्ने इन्जिनियर रावलले बताए । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । यसका लागि करीब मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाखको लागतमा काम भईरहेको छ ।
विमानस्थल कालोपत्रे गर्ने कार्य समयमै नसकिएपछि स्थानीयबासी भने निराश भएका छन् । विकास निर्माणका कामहरू समयमै नसकिने रोगजस्तै भइसकेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ । लक्ष्यअनुसार काम नहँदा यहाँका स्थानीयमा निरासा छाएको छ । पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो ।
पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । विस २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । यस विमानस्थलका कार्यालयका भवनहरू पनि तत्कालीन १२ वर्षे द्वन्द्वकालमा क्षतविच्छेद भएका थिए ।