अत्तरिया – कैलाली होटल व्यवसायी संघले टिकापुरमा हुने डल्फिन महोत्सवमा सहभागी हुन सबैमा आग्रह गरेको छ । आयोजकले आज अत्तरियामा पत्रकार सम्मेलन गरेर कैलाली होटल व्यवसायी संघको आयोजनामा भाद्र २८ गते देखि ३० गते सम्म टिकापुरमा हुने महोत्सवमा सहभागीताका लागि आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कैलाली होटल व्यवसायी संघका अध्यक्ष नरेन्द्र शाहीले टिकापुरमा संसारकै दुर्लभ मानिने स्तनधारी जन्तु डल्फिन देखा पर्ने भएकाले यसको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएकाले सहभागीताका लागि सबैमा आग्रह गरेका छन । उनले ‘डल्फिनको संरक्षण, संवद्र्धन र पहिचान, पर्यटन विकासको अभियान’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको बताए ।
पथरैया, काँडा र मोहना नदीको बहान बढेसंगै , संसारकै दुर्लभ मानिने स्थानधारी जन्तु डल्फिनको देखा परेकाले यसको संरक्षण गर्नका लागि टिकापुर नगरपालिका ७ ढुङ्गाना टोल बैदीमा डल्फिन महोत्सव गर्न लागेको अध्यक्ष शाहीले बताए ।
‘महोत्वसले नेपाल भ्रमण बर्ष २०२० लाई पनि सहयोग पु¥याउने छ ।’ अध्यक्ष शाहीले भने – ‘हाम्रो उद्देश्य डल्फिनको प्रचार र प्रयटन प्रबद्धन गर्नु हो । हामीले निशुल्क प्रवेस गर्ने र निशुल्क स्टल राख्ने व्यवस्था गरेका छौ । सबैलाई एक पटक अवलोकन गर्न आग्रह गर्दछु ।’
पत्रकार सम्मेलनमा बोल्दै कैलाली होटल व्यवसायी संघका महासचिव तेज बहादुर बोहराले महोत्सवमा डल्फिन तथा अन्य जलचर प्राणी अवलोकन, देउडा प्रतियोगीता , -याफ्टिङ्ग, स्थानिय जातजातीको संस्कृति झल्किने झाँकी प्रदर्शन , लगाएत बिभिन्न खानाका परिकारहरु महोत्सवका मुख्य आकर्षणका रुपमा रहने बताए । उनले महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरीक उडान मन्त्री योगेश भट्टराई गर्ने बताए ।
३ दिन सम्म चल्ने महोत्सवमा करिब १० लाख सम्म खर्च हुने आयोजकले जानकारी दिएको छ ।