काठमाडौं – नेपाल पत्रकार महासंघले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासित तीनजना पत्रकारको पुनर्बहाली सँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबार भित्रै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गरेको छ ।
महासंघका सचिव समेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा पत्रकारहरुले मंगलबार सिंहदरबा रभित्र प्रवेश गरेर रेडियो नेपालको स्टुडियो भवन परिसरमा आधा घण्टा धर्ना दिएको हो ।
धर्नापछि रेडियो नेपालबाट निष्कासन गरिएका पत्रकारको पुनर्बहाली, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग लेखिएका काला ब्यानरहरु टाँग्दै पत्रकारहरुले नाराबाजी गरेका थिए ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ सचिव दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी, महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाल लगायतले माग सम्बोधन गर्न रेडियो नेपालसँग माग गरेका थिए ।
उनीहरुले रेडियो नेपालले निष्कासन गरेका डोटीका तीनैजना पत्रकारको पुनर्बहाली गरेर श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे सरकारविरुद्ध अझै आन्दोलन चर्काउने चेतावनी दिए ।
रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निष्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए ।
महासंघले उनीहरुको सेवामा निरन्तरता, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन गरी भदौ २३ गतेसम्म महासंघलाई जानकारी नदिए भदौ २४ गतेदेखि रेडियो व्यवस्थापन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
यसैबीच बिना कारण निष्काशित गरिएका रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई सेवामा निरन्तरता, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन गरी भदौ २३ गतेसम्म महासंघलाई जानकारी नदिए भदौ २४ गतेदेखि रेडियो व्यवस्थापन विरुद्ध सशक्त आन्दोलन गर्ने पनि महासंघले चेतावनी दिएको छ ।
महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा शनिबार बसेको बैठकले विभाग र रेडियो नेपाल व्यवस्थापन समक्ष पत्रकार पुनर्बहाली र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग गर्ने र सुनुवाई नभए आन्दोलन गर्ने निर्णय गरेको थियो ।
कार्यवाहक अध्यक्ष थापामगर र सचिव दाहालले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्र बुझ्दै विभागका महानिर्देशक न्यौपानेले महासंघको माग सम्बोधन गर्न विभाग लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
ज्ञापनपत्र बुझाउने टोलीमा महासंघका केन्द्रीय सदस्य तथा समिति सहसंयोजक जन्मदेव जैसी, समिति सदस्यहरु यम विरही, मीन बम, महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर लगायतकोे सहभागिता थियो ।