अत्तरिया – आत्महत्या रोक्नका लागि नैतिक शिक्षा आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । मंगलबार ईलाका प्रहरी कार्यालय मालाखेतीको आयोजनामा भएको आत्महत्या विरुद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन । विद्यालय स्तरबाट नै आत्महत्या रोक्ने खालको शिक्षा आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए ।

छलफल कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद चुन कुमारी चौधरीले आत्महत्या रोक्न एक्लै प्रहरीले नसक्ने भएकाले सबैको सामुहिक पहलको आवश्यक रहेको बताईन । उनले भनीन् – ‘यस्ता घटना रोक्नका लागि परिवारबाट नै सुरुवात गर्न आवश्यक छ । अहिले साना बालबालिका पनि बिभिन्न कुलतमा फस्ने गरेका छन । जसले गर्दा आत्महत्या जस्ता घटनालाई प्रोत्साहन गरेको छ त्यसैले साना बालबालीकालाई कुलतमा फस्नबाट बचाउन आवश्यक छ ।’
कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिकाका मेयर भीम बहादुर देउवाले भैतिक विकासमा मात्रै जोड नदिएर मानविय विकासमा पनि स्थानिय निकायले जोड दिनुपर्ने बताए । उनले गौरीगंगा नगरपालिको मानविक विकासमा लागि बिभिन्न कार्यक्रम संञ्चालनमा ल्याएको बताए ।
नगरपालिकाले मानविय विकासका लागि नगरपालिकाले पहिलो पटक यसै बर्षको मंसिर महिनामा स्वास्थ्य महोत्सवको आयोजना गर्दैछ । जसमा हामीले मावन जिवन कसरी बचाउने , जिवन कसरी राम्रो बनाउने भन्ने बिषयमा जनचेतना जगाउने उद्देश्य छ ।’ मेयर देउवाले भने –‘मानिसलाई आत्महत्या गर्न बाट सबैको सामुहिक पहल आवश्यक रहेको छ । ’
कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यलय मालाखेतीका प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले सामाजिक संजालको प्रयोगमा बिशेष सजकता अपनाउन आवश्यक रहेको बताए । उनले आफ्ना छोराछोरीले सामाजिक संजालकोे प्रयोग कसरी गरिरहेको छन भन्ने बारेमा चनाखो हुन अभिभावकले पनि सामाजिक संजालमा जोडीन आवश्यक रहेको बताए ।
उनले आत्महत्या मानसिक तनावका कारण हुने भएकाले यस्ता कारण न्युनिकरणका लागि सबैको साझा पहलको आवश्यकता रहेको बताए ।
‘डिप्रेसन भईहाले यसको न्युनिकरणका लागि स्वास्थ्य परामर्श लिन आवश्यक रहेको छ ।’ डिएसपी बिष्टले भने – ‘बालबालिकाले पनि आत्महत्या गर्ने देखिएकाले यसको न्युनिकरणका लागि परिवारमा अभिभावक बिशेष सजक हुन आवश्यक रहेको छ ।’
अनौपचारीक छलफल कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिहं साउँद , उपप्रमुख रत्ना कडायत , चुरे गाउँपालिका अद्यक्ष धन बहादुर रोका मगर लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि , सामाजसेवी , जनप्रतिनिधि लगायत स्थानियले आत्महत्या रोकथामका उपायहरु बिषयक अन्तरक्रिया कार्यक्रममा आ आफ्नो धारणा राखेका थिए ।
आत्महत्या विरुद्धको विश्व दिवस
आत्महत्या विरुद्धको विश्व दिवस मंगलबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । आत्महत्या गर्नबाट रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्या विरुद्धको दिवस मनाउने गरिएको छ ।
आत्महत्या रोकथामका लागि अन्तराष्ट्रिय एसोसिएसन (आइएएसपी) को आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा यो दिवस मनाउने गरिएको छ । यो वर्ष पनि आत्महत्या रोकथामका लागि सहकार्य भन्ने मुल उद्देश्यका साथ विभिन्न कार्यक्रम गरिँदै छन् ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । आत्महत्या बढी हुने देशमा कम आय र मध्यम आय रहेका देश छन् । आत्महत्याका लागि खेतबारीमा हालिने बिसादी, डोरीको सहायताले झुण्डिने तथा आगो लगाउने बढी प्रयोग गरिएको छ ।
यस्तै अमेरिका, क्यानडा, जापानन, बेलायत सहितका देशमा पनि आत्महत्या बढेको छ । आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि विशेष गरी युवाहरुमा बढी रहेको छ । १५ देखि २९ वर्ष उमेरकाहरुमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या रहेको देखिएको छ ।
नेपालमा पनि आत्महत्या प्रमुख चुनौतिका रुपमा रहेको छ । आर्थिक वर्ष २०७५–७६ अन्तर्गत गएको चैतसम्मको तथ्यांकमा नेपालमा आत्महत्या गर्नेको संख्या ३ हजार ९ सय ५८ रहेको छ । नेपालमा आत्महत्या गर्नेमा ५६ प्रतिशतको हाराहारीमा १९ देखि ४० वर्ष उमेरका छन् ।