धनगढी - स्थानिय तह निर्वाचनमा धनगढीका व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
कैलालीको एक मात्रै उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको मेयरमा हमालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
मनोनयन दर्ता गर्नु अघि ट्राफिक चौराहाबाट बाजागाजा, र्यालीसहित उनी बिहान स्वास्थ्य तालिम केन्द्रस्थीत मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
साथै, उनको साथमा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पनि आ–आफ्ना उम्मेदवारी दर्ता गरेका छन् ।
२०७४ साल को स्थानिय चुनावमा पनि हमाल स्वतन्त्रबाट धनगढीको मेयर उठेका थिए।
को हुन हमाल ?
गोपाल हमाल धनगढी उपमहानगरका लागि चितपरिचित व्यवसायिक अनुहार हो । २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष रहेका उनले सुदूरपश्चिम महोत्सवको सुरुवात गरेर सुदूरपश्चिम चिनाउने प्रयास गरेका थिए ।
सुदूरपश्चिम अभावै अभावको क्षेत्र हो, त्यहाँ देउकी प्रथा छ, छाउपडि प्रथा छ, सामाजिक कुरिति छन्, दलित गैरदलितमा भेदभाव छ भनेर नकारात्मक कुरामा पहिचान बनाएको सुदूरपश्चिमलाई उनले सुदूरपश्चिम सुन्दर छ, सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास गरेका थिए ।
उनको पालामा सुन्दर सुदूरपश्चिम अभियान सञ्चालन भएको थियो । सुदूरपश्चिमका सम्भावनाका एक हजार तस्बिरहरु देशव्यापीरुपमा प्रदशनीमा लगिएपछि सुन्दर सुदूरपश्चिम अभियान चर्चामा आएको थियो । त्यसैले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता (परिकल्पनाकार) पनि भनिन्छ ।
उनकै पालामा देशको कार्यकारी प्रमुखलाई सुदूरपश्चिम महोत्सवमा बोलाएर २१ किलोको माला लगाउने र २१ बुँदे मागहरु राख्ने अभियान पनि चलेको थियो । त्रिभुवन अन्तराष्ट्रिय पछिको देशकै लामो धावनमार्ग भएको धनगढी विमानस्थल बनाउन नीजि क्षेत्रको तर्फबाट एक पैसें अभियान चलाएका उनलाई यस क्षेत्रको विकासको परिकल्पनाकारका रुपमा पनि लिइन्छ ।
२०७४ सालको स्थानीय तह निर्वाचन पनि साझा विवेकशील पार्टीका सुदूरपश्चिम संयोजक समेत बनेका हमाल यसपाली पनि साझा पार्टीबाट राजीनामा दिएर चुनावमा स्वतन्त्र रुपमा उत्रेका हुन् ।