टीकापुर - सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । सरकारले यही वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेर काम थालेपछि स्थानीयस्तरमा रहेका राजनीतिक दलले पनि आफ्ना गतिविधि बढाएका छन् ।
स्थानीयस्तरमा नेताहरू उम्मेदवारी दाबी गर्ने र राजनीतिक दल उम्मेदवार छनोटलगायत काममा जुटेका छन् । साथै राजनीतिक दलले मतदातालाई प्रभावित पार्न विभिन्न राजनीतिक कार्यक्रमसमेत गर्न थालेका छन् ।
टीकापुर नगरपालिका ६ की सङ्गीता विश्वकर्मालाई जनताको भावना बुझ्ने, पढेलेखेको, युवालाई साथमा लिएर हिँड्न सक्ने नेता पालिकाको नेतृत्वमा आउनुपर्छ भन्ने लाग्छ । “नेतृत्व शिक्षित हुनुपर्छ, शिक्षितसँगै युवा, महिला, बालबालिकाका भावना बुझ्ने, हामीलाई नगर विकासमा सहभागी गराउन सक्ने योजना भएको नेता चुन्ने योजनामा छौँ”, उनी बताउछिन्, “निर्वाचनमा उम्मेदवार धेरै हुन्छन् । यस पटक नगर विकासका लागि समय दिन सक्ने, सबैको हितमा काम गर्नसक्नेलाई जिताउनुपर्छ भनी हामी सचेत छौँ ।”
नेता व्यक्तिगत स्वार्थ त्यागेको विकासप्रेमी हुनुपर्छ । विकासप्रेमीसँगै नागरिकको भावना सम्बोधन गर्नसक्ने, सबैलाई मिलाएर लैजाने खालको नेता होस् भन्ने सबैको चाहना हुन्छ । नेता नागरिकका सबैखाले अपेक्षा पूरा गर्नसक्ने क्षमताको होस् भन्ने चाहना नागरिकले राखेका छन् । टीकापुर ७ सत्तीकी उषा ढुङ्गानालाई अब आउने नेतृत्व लैङ्गिक संवेदनशीलता बुझेको, सामाजिक कुरीति अन्त गर्नसक्ने र काम गर्ने जोश जाँगर भएको शिक्षित युवा होस् भन्ने लाग्छ । “हाम्रो समाजमा लैङ्गिक समानता नभएका कारण महिला सदियौँदेखि हिंसाबाट पीडित छन्”, ढुङ्गाना भन्छिन्, “नेतृत्वमा बस्ने लैङ्गिक संवेदनशीलता बुझेको हुन आवश्यक छ ।”
नागरिकका असीमित चाहनालाई क्रमशः पूरा गर्नु नेतृत्वको दायित्व भएकाले नेतृत्व छान्दा चुक्न नहुनेमा युवा सचेत छन् । कुरा मात्र गर्नेभन्दा साना साना समस्या र माग पूरा गर्नसक्ने नेता छान्नुपर्ने टीकापुरका सुशील ओझा बताए । “कैलालीको समस्या फोहोर व्यवस्थापन, छाडा पशु चौपाया, ढल निकास, सडक बनाउनुपर्नेजस्ता समस्या छन्”, उनले भने ।
पालिकाको नेतृत्वमा बसेर निर्णय लिनुपर्ने व्यक्ति कम्तीमा स्नातह तह उत्तीर्ण हुनुपर्ने टीकापुर–५ का रमेश चौधरी बताए । “पढेको, अनुभव भएको नेताले पो हिम्मतका साथ काम गर्न सक्छ”, उनले भने , “नेतृत्व छान्दा गल्ती भएमा पाँच वर्ष पछुताउनु पर्ने हुन्छ । यस पटक हामी सचेत छौँ ।”
कैलालीकै अर्जुनकुमार वन पनि विकास गर्न सक्ने, हाम्रो नभई राम्रो क्षमता भएको, पढे लेखेको, युवाका भावना समेट्न सक्ने नेतृत्व आवश्यक रहेको बताए । “आफन्त, नातेदार हो भनेर सक्षम मानिस छोडेर आफ्नालाई जिताउँदा पछुताउनुबाहेक केही हात लाग्दैन”, उनले भने , “पालिकाको नेतृत्वमा जाने सबैको अभिभावक हो । सबैको अभिभावक असल, क्षमतावान्, कुशल हुनुपर्छ । यसका साथै सबै क्षेत्रलाई साथमा लिएर विकासका कार्यमा खट्ने हुनुपर्छ । रासस