डडेल्धुरा - मा एसईई परीक्षा दिने ३ हजार ११८ जना विद्यार्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विद्यालयबाट ३ हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले बताए ।
सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० बढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन् । जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताए । परीक्षा नियन्त्रण केन्द्रले दिएको निर्देशनअनुसार एक हजार १२ भन्दा बढी सेन्टर राख्न नसकिने र माथिकै निर्देशनका आधारमा होम सेन्टर राख्न नमिल्ने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।
परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा चार, भागेश्वर, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा एक/एक र सदरमुकाममा रहेका अमरगढी नगरपालिकामा चार वटा परीक्षा केन्द्र गरी १२ वटा केन्द्र तोकिएका छन् ।सीमित ठाउँमा परीक्षा केन्द्र राख्दा दुर्गम विद्यालयका विद्यार्थी भने परीक्षा दिनका लागि सकस व्यहोर्नुपर्ने बाध्यता छ ।
विद्यार्थीलाई केन्द्रसम्म पुग्न नै सकस हुने भन्दै दुखेसो पोखिरहेका छन् । नजिकमा सेन्टर नहुँदा अजयमेरु, घनघस्या मावि खतेडाका विद्यार्थीले परीक्षा दिनका लागि मात्रै डेरा गर्नुपर्ने बाध्यता रहेको स्थानीय किशोर भण्डारीले बताए । घनघस्याका मात्रै नभई स्थानीय तहका धेरै विद्यालयले दुर्गमबाट आई परीक्षा दिनुपर्ने हुन्छ ।
प्राय विद्यार्थीले डेरा गरी बस्नुपर्दा बस्ने आवासका साथै खानपिनको पनि समस्या हुने हुनसक्ने देखिन्छ ।परीक्षा केन्द्र तोकिएको ठाउँ अन्य विद्यालयबाट टाढा छन् । सीमित सेन्टरले गर्दा जिल्लाका एसईई दिन सहभागी हुने विद्यार्थी प्राय मर्कामा परेका छन् । पढाइ हुने समय कोरोनाले खायो, परीक्षा दिन जाँदा पनि दुर्गमताको सिकार हुनुपर्ने बाध्यता विद्यार्थीको हरेको छ ।
निर्देशन अनुसारको व्यवस्था गरिसकेको र यही वैशाख ९ गतेदेखि परीक्षास्थलको पूर्ण तयारी भइसकेको शिक्षा विकास कार्यालय प्रमुख जोशीले बताए । रासस