तनहुँ - बलात्कार मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहलाई आज (बुधबार) नवलपरासी पूर्व लगिने भएको छ । जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बोलाएको हो ।
त्यहाँ पनि एक नाबालिग गायिकातर्फबाट पलविरुद्ध बलात्कार मुद्दा दिइएको हो । दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । तर पल शाहले कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । उच्च अदालतमा केही दिनपछि यस विषयमा सुनुवाइ हुँदैछ । यसअघि प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाएको थियो ।
जिल्ला अदालत तनहुँमा भने उनको बकपत्र गराइसकिएको छ । साक्षी बुझ्ने काम भने जारी रहेको जिल्ला अदालत तनहुँ स्रोतले जनाएको छ । यसअघि पीडित नाबालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको थियो ।
मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन् । त्यसअघि जाहेरवाला पीडितका बुबाको पनि बकपत्र भएको छ । यसअघि पीडितको बकपत्र गराउँदा पनि उनी साथै थिए ।
बुबासँगै हुँदा पीडित नाबालिगले पलले बलात्कार नगरेको बयान दिइन् । मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो । अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बयान दिएका छन् ।
यसअघिको जाहेरीमा गरिएको दाबी झुटो भएको र अरुको उक्साहटमा उजुरी हालिएको उनीहरुले बताए । यससँगै फैसला प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
यस्तै झुटो जाहेरी दिएको भन्दै पीडितलाई नै सजाय हुन सक्ने समेत कानुनी व्यवस्था छ । तर पीडित नाबालिग भएकाले त्यसको पनि दुई तिहाई मात्रै सजाय हुन सक्ने व्यवस्था छ । अदालतले दुवैलाई सफाइ दिन पनि सक्नेछ ।