ललितपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले थारु समुदायका माग सम्बोधनका लागि आफ्नो पार्टी गम्भीर रहेको बताएका छन् ।
थारु कल्याणकारिणी सभाको ज्ञापनपत्र बुझ्दै प्रचण्डले थारुहरुका माग सम्बोधनमा आफू सकरात्मक रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर माग सम्बोधनका लागि पहल गर्ने बताए ।
नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिको अभूतपूर्व योगदान रहेको चर्चा गर्दै प्रचण्डले ती समुदायको हित र अधिकार बिना प्राप्त उपलब्धि संस्थागत हुन नसक्ने बताए । त्यसैले थारु समुदायले उठाएका विभिन्न मागका विषयमा आफूले प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष ओलीसँग छलफल गरेर सम्बोधनको पहल गर्ने प्रचण्डको भनाई छ ।
मुद्दा फिर्ताको प्रकृयाका विषयमा पनि प्रधानमन्त्री ओली, आफू र महान्यायधिवक्ताबीच छलफल गरेर निर्णयमा पुगिने प्रचण्डले बताए ।
थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाईको माग गरेको छ ।
सभाले घटना राजनैतिक भएकाले समाधान राजनैतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ ।
आइतबार नेकपा अध्यक्ष प्रचण्डलाई निवास खुमल्टारमा भेटी सभाका अध्यक्ष धनिराम चौधरीसहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह तप्कामा संवैधानिक व्यवस्था अनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन गर्न र लोकसेवा आयोगको प्रकाशित विज्ञापन अविलम्ब खारेजीको माग पनि गरिएको छ ।