धनगढी-स्थानिय निर्बाचनको मिती नजिकिय संगै गठबन्धनका दलहरु बिच भागबण्डा शुरु भएको छ । सुदुरपश्चिममा पनि गठबन्धनलाई मिलाउन सकस परेको छ । खासगरी एकीकृत समाजवादीले एमाले कै हैसियतमा सिट माग्न थालेपछि गठबन्धनको प्रदेशस्तरको बैठकमा कुरो मिल्न सकेको छैन ।
बैठकमा सहभागी एक नेताले भने -'एकीकृत समाजवादीले धेरै ठाउँमा भाग माग्न खोजेको छ , तर एमाले फुटेको असर पर्ने गरी समाजबादीको संगठन भने छैन।'
एकीकृत समाजवादीले भने सुदुरपश्चिममा नै आफ्नो बढी प्रभाब क्षेत्र रहेको दाबी गर्दै आएको छ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीमा प्रदेश सांसद देखी स्थानिय जनप्रतिनिधीको सँख्या सुदुरपश्चिममा अन्य प्रदेश भन्दा बढी रहेकाले यँहा अली बढी दाबी गरिएको समाजबादीका नेताहरुले बताएका छन् । गठबन्धनका नेताहरुले बैठकलाई भने जारी राखेका छन् ।
सुदूरपश्चिम प्रदेश मा समाजबादीमा को को खुलेका छन् ?
सुदूरपश्चिममा एमालेबाट निर्वाचित गाउँ/नगरपालिका प्रमुखको संख्या ८ छ। यस्तै उपमेयर/उपाध्यक्ष ५ सहित १३ जना खुलेका छन्।
अछामको साफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, कञ्चनपुरको बेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्द, पुनर्वास नगरपालिका प्रमुख जीवनराम थापा, डडेल्धुराको आलिताल नगरपालिका प्रमुख गणेश साउद, बैतडीको पुर्चौडी नगरपालिका प्रमुख रणबहादुर कुँवर, अछामको चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद रहेका छन् ।
यस्तै बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी, बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारी र उपाध्यक्ष निशा धामी सो पार्टीमा आएका छन्।कैलालीको घोडाघोडी नगरपालिका उपप्रमुख प्रेमकुमारी थापा, गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत, अछामको साफेबगर नगरपालिका उपप्रमुख वीरमाला बुढथापा, पुनर्वास नगरपालिका उपप्रमुख शारदा शर्मा विष्ट, कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजा बुढा मगर ( हाल माओबादी ) पनि समाजवादीमा छन्।