काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ ।
कूल ७५३ स्थानीय पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ । यस्तै, पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
महिलाले नेतृत्व गरेको पालिकामा विकास निर्माणको काम प्रभावकारी भएको, बेरुजु जस्ता विषयमा कुनै समस्या नभएको एवं जनताको माग अनुसारको काम भएको निष्कर्षका साथ उक्त व्यवस्था गरिएको माओवादीले जनाएको छ । माओवादीको विधानअनुसार स्थानीय पालिका समितिमा ३५ प्रतिशत बराबरको सहभागिता महिलालाई गराएको छ ।
सात प्रदेशमध्ये गण्डकी र कर्णाली प्रदेशको नेतृत्वसमेत माओवादीले महिलालाई प्रदान गरेको छ । नेपालको संविधानले राज्यका हरेक निकायमा महिलाको सहभागिता ३३ प्रतिशत हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । संविधानको प्रावधान भन्दा पनि अगाडि बढेर माओवादीले आफ्ना समितिमा ३५ प्रतिशत बराबरको हिस्सा महिलालाई उपलब्ध गराएको छ ।
अध्यक्ष प्रचण्डको सर्कुलरमा विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिका अन्तर्गत कम्तीमा एउटा वडाध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड दिइएको छ ।
यस्तै माओवादीले सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग नै स्थानीय निर्वाचनमा सहकार्य गर्न परिपत्रमा निर्देश गरेको छ । गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल हुन नसकेका स्थानीय तहमा गठबन्धनमा आवद्ध दलसँगै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पार्टी केन्द्रको अनिवार्य स्वीकृति लिनुपर्ने उल्लेख गरेको छ ।
सत्तागठबन्धन आवद्ध दलका शीर्ष नेताको सोमबारको बैठकले स्थान र आवश्यकता अनुसार चुनावी तालमेल गर्न, आपसी सहकार्य र परस्पर सहयोगको भावनाका साथ अगाडि बढ्ने निर्णय गरिसकेको छ । निर्वाचन आयोगको सिफारिशमा सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ ।