बझाङ - जिल्लामा यतिबेला बिर्सती मेलाको रौनक छाएको छ । जिल्लाको दुर्गाथली गाउँपालिका र छबिसपाथीभेरा गाउँपालिकाको केन्द्र रहेको थली नौबिसमा लाग्ने प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सती मेलाले अहिले त्यहाँ निकै रौनक छाएको हो ।
बिर्सती मेला शुक्रबारदेखि शुरु भएको हो । मेला हेर्न र पुजा आजा गर्नका लागि लामो समयदेखि जिल्ला र घरवाट टाढा रहेका स्थानीयहरु अहिले आ आफ्नो गाँउघरमा फर्किएका छन् । बझाङ जिल्लामा लाग्ने विभिन्न मेला चाडपर्व मध्ये नौबिसको बिर्सती मेला जिल्लाकै प्रमुख प्रसिद्ध धार्मिक तथा ऐतिहासिक मेला मध्येको एक हो ।
मेलाका अवसरमा नौबिसमा रहेको दुर्गादेवी मन्दिरमा पुजाआजा गर्नेहरुको पनि धेरै भिड लागेको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको सो मन्दिरमा पुजाआजा गर्न बझाङ, बैतडी र डोटीदेखिका भक्तजनहरुको भिड लागेको दुर्गाथली गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले जानकारी दिए ।
अध्यक्ष जोशीका अनुसार परापूर्वकालमा नै देवी दुर्गा र सुर्मा देवी अलग हुँदा मन्दिर नजिकै रहेको ठूलो पाँगरको रुख सुर्मा देवीले च्यातेर लिएको दृष्य अहिले पनि देखिन्छ । बिर्सती मेलामा खाली खुट्टा जानुपर्छ भने मन्दिर रहेको बिर्सतीका ठुलो खेती गर्ने जमिन स्थानीय भाषामा जिउलोमा एकै दिन विउ राख्ने र रोपाई गर्ने गरिन्छ। कार्तिकमा पनि एकै पटक धान काट्ने प्रचलन अहिले पनि कायमै रहेको लेकगाउँका स्थानीय कटक बुढाले बताए ।
उनका अनुसार अहिले पनि जिउलामा खाली खुट्टा जानु पर्ने धार्मिक बिश्वास कायमै रहेको छ । दुर्गाथली र छबिसपाथीभेरा गाउँपालिकाको आस्थासँग जोडिएको बिर्सती मेलामा विभिन्न प्रतियोगिताहरु समेत सञ्चालन समेत भईरहेका छन् ।
मेलामा भलिवल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, डेउडा दोहोरी लगायतका प्रतियोगिताको समेत आयोजना गरिएको हो ।