अत्तरिया - कैलालीको गोदावरी नगरपालिका सहित केही पालिकाहरुमा आजवाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुदैछ । गोदावरी नगरपालिका सहित जिल्लामा केही पालिकाले बुधबार देखि खोप अभियान सञ्चालन गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, केही पालिकाले चैत २५ गतेबाट सञ्चालन गर्ने तयारी गरेका छन् । गोदावरी नगरपालिकामा आजवाट २७ गते सम्म ३० हजार बढी बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कैलालीमा साढे दुई लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गर्ने तयारी गरिएको छ । बालबालिकालाई टाइफाइड रोगबाट जोगाउनका लागि यो दिन लागिएको हो । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए ।
‘प्रत्येक विद्यालयमा यो अभियान सञ्चालन हुनेछ’, उनले भने । कैलालीमा पालिकाहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार टाइफाइडविरुद्धको खोप लगाउन पाइने उमेर समूहका बालबालिकाको सङ्ख्या दुई लाख ४९ हजार रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यो उमेर समूहका सबैलाई खोप लगाउनले लक्ष्य राखिएको छ ।
टाइफाइडको सङ्क्रमण १५ वर्षमुनिका बालबालिकालाई सबैभन्दा बढी हुने भएकाले सरकारको नीति अनुसार टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । खोप लगाइ सकेपछि कतिपय बालबालिकालाई खोप लगाएको ठाउँमा रातो हुने, दुख्ने, हल्का ज्वरो आउने, बिमिरा आउने जस्ता असर देखिन सक्ने बताइएको छ ।
यस्ता असर देखिएमा नआत्तिन र गम्भीर असर देखा परेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ । नेपाल सरकारले वैशाख १५ गतेसम्म यो अभियान सञ्चालन गर्नु पर्ने समय सीमा तोके पनि विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर एक हप्तासम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने धामीले बताए ।
अभियान सफल पार्नका लागि कैलालीमा दुई हजार जनशक्ति खटाइने जनाइएको छ ।