काठमाडौँ - सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारी अघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको छ । केन्द्रीय समितिले यसअघि त्यस्ता उम्मेदवारको नाम सिफारिस गर्न र यथासक्य उम्मेदवारको टुंगो लगाउन सर्कुलर गरेको थियो ।
तर, सत्तारुढ दलहरूसँग गठबन्धनको सम्भावना बढेपछि तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरिएको हो ।सत्ता गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसले गठबन्धनका साझेदार दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग स्थानीय आवश्यकताअनुसार तालमेल गरेर चुनावमा भाग लिने तयारीमा छ ।
गठबन्धन दलहरुले स्थानीय तहसम्मै संयन्त्र निर्माण गरेर तल्ला तहको वस्तुगत अवस्थाबारे जानकारी लिँदै चुनावी तालमेलको तयारी गरिरहेका छन् ।स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ ।
यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकेको थियो।
जसअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिइएको थियो।
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो।